सांघाई – सांघाईमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका ताकाशी इतो चीनले जापानी ‘सी-फुड’ (सामुद्रिक खाद्यवस्तु) को आयातमा लगाएको प्रतिबन्ध हट्ने आशामा थिए । तर, बेइजिङ र टोकियोबीच एक्कासी बढेको कूटनीतिक तनावले उनको त्यो आशामा तुषारापात गरिदिएको छ ।
जापानका नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि चीनले गर्ने कुनै पनि आक्रमणले जापानको अस्तित्व संकटमा पार्न सक्ने र त्यसले ‘सैन्य प्रतिक्रिया’ निम्त्याउन सक्ने बताएपछि एसियाली छिमेकीहरूबीचको तनाव पुनः चर्किएको हो ।
प्रजातान्त्रिक शासन व्यवस्था रहेको ताइवानलाई आफ्नो अभिन्न अंग मान्ने चीनले जापानी प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति कडा आक्रोश व्यक्त गरेको छ । प्रतिक्रियास्वरूप चीनले जापानी सामुद्रिक उत्पादनमा पुनः प्रतिबन्ध लगाउनुका साथै जापान भ्रमण बहिष्कार गर्ने र कडा प्रतिवादमा उत्रने चेतावनी दिएको छ । यसैको असरस्वरूप दुई देशबीचका थुप्रै बैठक र सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएका छन् ।
आफ्नो जापानी सी-फुड रेस्टुरेन्ट ‘मेरासे’ मा कुरा गर्दै इतोले भने, ‘हरेक पटक यस्ता ठूला घटना हुँदा हामी निकै पीडामा हुन्छौँ । जब-जब जापान र चीनबीचको सम्बन्ध खलबलिन्छ, हाम्रो मुटुको धड्कन पनि तल-माथि हुन्छ। यो धेरै पीडादायी छ ।’
चिन्ताको विषय के छ भने, बुधबार साँझ उनको रेस्टुरेन्टका केही बुकिङहरू रद्द भए । यद्यपि ग्राहकहरूले यसको स्पष्ट कारण खुलाएनन् । मेरासेमा आउने ग्राहकमध्ये आधा हिस्सा चिनियाँ नागरिककै हुने गर्छ ।
सन् २०११ को महाभूकम्प र सुनामीपछि भएको आणविक दुर्घटनास्थल फुकुशिमा प्लान्टबाट प्रशोधित पानी समुद्रमा छोड्ने टोकियोको निर्णयका कारण दुई वर्षअघि चीनले जापानी सी-फुडमा प्रतिबन्ध लगाएको थियो। बेइजिङले भर्खरै मात्र ती प्रतिबन्धहरू आंशिक रूपमा खुकुलो बनाएको थियो ।
इतोले स्थानीय स्तरमै पाइने सामग्री प्रयोग गर्ने प्रयास गरे पनि केही विशेष प्रकारका माछाहरू जापानबाटै ल्याउनुपर्ने बाध्यता छ ।’अहिलेसम्मकै घटनाक्रममध्ये यो निकै गम्भीर छ,’ उनले भने । सी-फुड आयातको विषयमा तत्कालै कुनै शुभ समाचार आउने सम्भावना कम रहेको उनको बुझाइ छ ।
उनी भन्छन्, ‘ताकाइचीले जे भनिन्, त्यो फिर्ता लेलिन् जस्तो मलाई लाग्दैन। यदि सम्भव छ भने, म चाहन्छु कि जापान र चीनका कूटनीतिज्ञहरूले मिलेर स्थिति सुधार्न काम गरुन् । दुवै देशका जनताले एक-अर्कासँग झगडा नगरी समान खानाको आनन्द लिन सकून् भन्ने मेरो आशा छ ।’
प्रधानमन्त्री ताकाइचीको अभिव्यक्तिलाई लिएर चीनका कूटनीतिज्ञ र सरकारी सञ्चारमाध्यमले तिखो प्रतिक्रिया जनाएका छन् । यसले गर्दा जापानले चीनमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन र भीडभाड हुने स्थानहरूमा नजान चेतावनी जारी गरेको छ ।
तर, इतो र सांघाईमा नै याकितोरी रेस्टुरेन्ट ‘ह्याकुमान्बेन’ चलाउँदै आएका अर्का व्यवसायी काजुआकी सोने भने आफ्नो व्यक्तिगत सुरक्षालाई लिएर चिन्तित छैनन् । उनीहरूको चिन्ता केवल सरकार-सरकार बीचको समस्याले मानिस-मानिस बीचको व्यापार, खानपान र सांस्कृतिक आदानप्रदानलाई असर गर्छ कि भन्नेमा केन्द्रित छ ।
सन् २०१२ मा चीन आएका र दुई वर्षअघि रेस्टुरेन्ट खोलेका सोनेले भने, ‘म लामो समयदेखि चीनमा बस्दै आएको छु र जापान-चीनबीचको कूटनीतिक तनाव धेरै पटक भोगेको छु ।’ उनले थपे, ‘तर यहाँका आम मानिस, विशेष गरी मेरा असल साथीहरूले मलाई कहिल्यै फरक व्यवहार गर्दैनन्… त्यसैले त म अझै पनि यहाँ चीनमा काम गर्न सकिरहेको छु ।’








