टोकियो – जापानी प्रधानमन्त्री सानाय ताकाइचीले ताइवानका विषयमा दिएको अभिव्यक्तिपछि बेइजिङ र टोकियोबीच कूटनीतिक तनाव चुलिएको छ । यही तनावका बीच प्रमुख चिनियाँ वायुसेवा कम्पनी ‘एयर चाइना’ले यसै महिनाको अन्त्यदेखि जापानका लागि हुने आफ्ना उडानहरूमा कटौती गर्ने घोषणा गरेको छ ।
सरकारी स्वामित्वको एयर चाइनाले ओसाका र साङ्घाईबीचको उडान संख्या कटौती गरेको जनाएको छ । आगामी नोभेम्बर ३० देखि अर्को वर्षको मार्च महिनाको अन्त्यसम्म लागू हुने गरी, सातामा २१ पटक हुँदै आएको ओसाका-साङ्घाई उडान अब १६ वटामा सीमित हुनेछ ।
यसैगरी, टोकियो र छोङछिङबीचको उडान सेवामा पनि कटौती गरिएको छ । डिसेम्बर १ देखि लागू हुने गरी हाल सातामा सात पटक भइरहेको उडानलाई घटाएर चार पटक मात्र सञ्चालन गरिने एयर चाइनाले जनाएको छ । यो नियम पनि मार्च महिनाको अन्त्यसम्म कायम रहनेछ ।
एयर चाइनाले उडान कटौतीको कारण ‘सञ्चालन सम्बन्धी’ बताए पनि यसको पछाडि भू-राजनीतिक तनाव मुख्य कारण रहेको विश्लेषण गरिएको छ । जापानी प्रधानमन्त्री ताकाइचीले यसै महिनाको सुरुमा ताइवानबारे दिएको अभिव्यक्तिलगत्तै बेइजिङले गत साता आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न ‘ट्राभल एडभाइजरी’ (सुझाव) जारी गरेको थियो । एयर चाइनाको यो निर्णयमा सोही सरकारी सुझावको प्रभाव परेको देखिन्छ ।
तनाव बढेसँगै चिनियाँ वायुसेवा कम्पनीहरूले जापान आउने-जाने उडानका टिकटमा यात्रुहरूलाई नि:शुल्क मिति परिवर्तन र रद्दीकरणको सुविधा दिइरहेका छन् । चिनियाँ सरकारी टेलिभिजन ‘सीसीटीभी’ले जनाए अनुसार, नोभेम्बर १५ यता मात्रै जापानका लागि ५ लाख ४० हजारभन्दा बढी उडान टिकटहरू रद्ध भइसकेका छन् । दुई देशबीचको बिग्रँदो कूटनीतिक सम्बन्धको प्रत्यक्ष असर पर्यटन र उड्डयन क्षेत्रमा देखिन थालेको छ ।








