काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेपछि नवनियुक्त मन्त्री बब्लु गुप्ताले आफू ‘गफ’ मा भन्दा ‘काम’ मा विश्वास गर्ने बताएका छन् ।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले विगतमा मन्त्रीहरूले धेरै बोलेर कम काम गर्दा मुलुकले क्षति बेहोरेको भन्दै आफ्नो प्राथमिकता परिणाममुखी कार्यसम्पादनमा रहने स्पष्ट पारे । ‘युवाहरूको माग छ, र उनीहरूको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र त्यसलाई कार्यान्वयनतर्फ कसरी अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं,’ मन्त्री गुप्ताले भने ।
उनले तत्कालै मन्त्रालयको टिमसँगको छलफलपछि मात्रै आगामी रणनीति तय गर्ने बताए । मन्त्री गुप्ताले छोटो समय र सीमित स्रोतसाधनका बाबजुद धेरै काम गर्नुपर्ने चुनौती स्वीकार गर्दै भने, ‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई दैनिक प्रस्तुत गर्नेछौं ।’
उनले बोल्नुभन्दा पहिला काम गरेर देखाउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, ‘बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा व्यवहारिक छ त, हामीले आफूसँग भएको स्रोतसाधन पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन ।’
युवाहरूमा आशा नमरोस् भन्नेमा आफू सचेत रहेको बताउँदै उनले थपे, ‘प्रश्न के उठिरहेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीरहँदा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छौं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहिँ गफगफको ब्रिफिङ हुन्छ ।’








