काठमाडौं – प्यालेस्टिनी विद्रोही संगठन हमासले युद्धविरामको दोस्रो चरणमा थप १३ जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । यसअघि पहिलो चरणमा ७ जना बन्धकहरू रिहा गरिएका थिए । इजरायली सेनाले सबै रिहा भएका बन्धकहरूलाई सकुशल फिर्ता लिएको पुष्टि गरेको छ, जसले गर्दा लामो समयदेखि पर्खाइमा रहेका परिवारहरूमा खुसीको आँसु देखिएको छ ।
रिहा भएका बन्धकहरूलाई परिवारजनसँग भिडियो कलमार्फत कुराकानी गर्न दिइएको थियो । यो भावनात्मक क्षणले कैदी जीवन बिताएका र आफ्ना प्रियजनबाट टाढिएका परिवारहरूका लागि ठूलो राहत प्रदान गरेको छ ।
रिहा भएकी बार कुपरस्टाइनकी आमा जुलीले आफ्नो छोरासँगको कुराकानीबारे इजरायली सञ्चारमाध्यम हेरताजसँग भिडियोमा कुरा गरेकी छिन् । ‘मैले दुई वर्षपछि मेरो छोरालाई देखेँ । सबै ठीक छ,’ उनले भनिन्, ‘मैले आकाशतिर चिच्याएँ। बच्चाहरू जीवित देख्दा अविश्वसनीय लाग्यो । मेरो सारा शरीर कापिरहेको छ ।’
यसैबीच, हमासले जीवित बन्धकहरूको रिहाइ गरिसकेपछि मृतकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई सबै मृतकका शव हस्तान्तरण गर्ने तयारी भइरहेको बताएका छन्, तर यसको निश्चित समय भने तोकिएको छैन ।








