Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उनले हालै बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि आफ्नो डिएनए र स्वास्थ्यसम्बन्धी कुनै पनि सुराग विदेशी जासुसहरूका हातमा पर्न नदिन असाधारण सुरक्षा रणनीति अपनाएका छन् । भेटवार्तापछि उत्तर कोरियाली अधिकारीहरूले किमले छोएका हरेक वस्तुलाई सावधानीपूर्वक पुछेर सफा गरेका हुन् ।

चीनको सैन्य परेडमा सहभागी हुन पुगेका किमले पुटिनसँग भेट गरेका थिए । रुसी पत्रकार अलेक्जेन्डर युनाशेभले साझा गरेको भिडिओमा किम र पुटिनबीचको भेटपछि दुई उत्तर कोरियाली कर्मचारीले कोठालाई सावधानीपूर्वक सफा गरिरहेको देखिन्छ।  कुर्सी, कफी टेबल र किमले पानी पिएको गिलासलगायत सबै निशानहरू हटाइएको थियो । पत्रकार युनाशेभले भनेका छन्, ‘वार्ता सकिएपछि, उत्तर कोरियाका प्रमुखका साथमा आएका कर्मचारीहरूले किमको उपस्थितिका सबै निशानहरू सावधानीपूर्वक नष्ट गरे ।’

यसअघि पनि किमले आफ्नो हरियो रङको विशेष ‘बुलेटप्रुफ’ रेलमा आफ्नै शौचालय र फोहोर राख्ने झोला लिएर यात्रा गर्ने गरेको खुलासा भएको थियो । यसको उद्देश्य चुरोटका ठुटा वा अन्य व्यक्तिगत सामानबाट डिएनए नमूना प्राप्त हुन नदिनु हो । यो अभ्यास किमका बुबा किम जोङ इलकै पालादेखि चल्दै आएको हो ।

विगतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको हनोई शिखर सम्मेलनपछि पनि किमका अंगरक्षकहरूले घण्टौंसम्म कोठा सफा गरेका थिए । त्यस्तै, सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनसँगको भेटमा र २०२३ मा पुटिनसँगको अर्को शिखर सम्मेलनमा पनि किम बस्नुअघि कुर्सीलाई सेनिटाइजरले सफा गरी मेटल डिटेक्टरले जाँच गरिएको थियो ।

तपाईको प्रतिक्रिया