टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्वले आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै नेपाली समुदायको सेवामा महत्वपूर्ण कदम चालेको छ । संघ नेतृत्वले टोकियोको शिनओकुबोस्थित कार्यालयमा नियमित सेवा प्रवाह गर्न दक्ष र अनुभवी सुजन पन्तलाई कार्यालय सचिव नियुक्त गरेको औपचारिक घोषणा गरेको हो ।
यो पहलसँगै अब जापानमा रहेका नेपालीहरूले एनआरएनए जापानसँग सम्बन्धित विविध जानकारी, कानुनी सहयोग, दूतावासँगको समन्वय, दैनिक जीवनसँग जोडिएका समस्या तथा अन्य परामर्शका लागि प्रत्यक्ष रूपमा कार्यालयमा पुगेर वा फोन र म्यासेजमार्फत सहजै सेवाग्राही बन्न सक्नेछन् । एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले एक नोट जारी गर्दै ‘कार्यालय सचिव’ नियुक्तिको जानकारी गराएका हुन् ।
उनका अनुसार, नवनियुक्त कार्यालय सचिवले सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाबाहेक) कार्यालयमा उपस्थित भई सेवा दिनेछन् । यसले जापानमा रहेका नेपालीहरूलाई आवश्यक पर्ने सूचना तथा सहयोग सहज र छिटो उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सेवाग्राहीका लागि थप सुविधा
एनआरएनए जापानले नेपाली समुदायको सुविधाका लागि हटलाइन नम्बर ०८०-६३५२-८२८६ समेत सञ्चालनमा ल्याएको छ । यस नम्बरमा सम्पर्क गरी कार्यालय समयमा फोनमार्फत वा कार्यालय बाहिरको समयमा भाइबरबाट म्यासेज गरी सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । फोन व्यस्त भएमा वा कार्यालय समयभन्दा बाहिर परेमा पनि सोही नम्बरमा भाइबरमार्फत सन्देश पठाएर सेवा लिन सकिनेछ । साथै, संघको आधिकारिक फेसबुक पेजमार्फत पनि सम्पर्क गर्न सकिने जानकारी गराइएको छ ।
एनआरएनए जापानका अनुसार, कार्यालय सचिवको उपस्थितिमा जापानमा रहेका नेपालीहरूको दैनिक समस्या समाधानमा सहजता आउने, आवश्यक सहयोग तथा समय-समयमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउने र समुदायसँग प्रत्यक्ष संवाद कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस अभियानलाई ‘सम्भव’ बनाउन सबै मिलेर काम गर्न अध्यक्ष लामिछानेले आह्वान गरेका छन् ।








