समाचार सुन्नुहोस :
काठमाडौँ – उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान विशेष रेलमार्फत चीन प्रवेश गरेका छन्। उनी दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको अवसरमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी हुन चीन पुगेको उत्तर कोरियाली राज्य सञ्चारमाध्यमले जनाएको छ। रोडोङ सिनमुनका अनुसार किम सोमबार प्योङयाङबाट प्रस्थान गरी मंगलबार बिहान चीन पुगेका हुन्। बुधबार बेइजिङमा हुने सैन्य परेडमा उनी सहभागी हुने र सो अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसउद पेझेस्कियनसँगै रहने अपेक्षा गरिएको छ।
किम आफ्नो टोलीसहित गाढा हरियो रंगको विशेष रेलमार्फत चीन पुगेका छन्। यो रेल अघिल्ला विदेशी भ्रमणका क्रममा प्रयोग भएको बुलेटप्रुफ रेलसँग मिल्दोजुल्दो देखिएको रोयटर्सले जनाएको छ। चीन जाने अघिल्लो दिन किमले क्षेप्यास्त्र प्रयोगशालाको अवलोकन गरेका थिए। त्यहाँ कार्बन फाइबर कम्पोजिट प्रयोग गरेर अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्रका इन्जिन विकास भइरहेको छ। केसीएनएका अनुसार नयाँ ठोस इन्धनयुक्त इन्जिनको अधिकतम प्रोपल्सन क्षमता १,९६० केएन छ, जसलाई ‘ह्वासोङ–१९’ र आगामी ‘ह्वासोङ–२०’ क्षेप्यास्त्रमा प्रयोग गर्ने योजना छ।
सोमबार नै उत्तर कोरियाले सी जिनपिङको विश्वव्यापी शासन प्रणालीलाई न्यायपूर्ण बनाउनुपर्ने अभिव्यक्तिप्रति समर्थन जनाएको थियो। उत्तर कोरियाली उप–विदेशमन्त्रीले चीन–उत्तर कोरिया सहकार्य अझै प्रगाढ हुने बताएका छन्। यसै दिन सी जिनपिङले रूस र भारतका नेतासहितको शिखर सम्मेलनमा ‘ग्लोबल साउथ’ लाई प्राथमिकतामा राख्ने नयाँ सुरक्षा र आर्थिक दृष्टिकोण प्रस्तुत गरेका थिए, जसलाई अमेरिकाप्रति सीधै चुनौतीको रूपमा लिइएको छ।








