Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको पपुलिस्ट सान्सेइटो पार्टीले गत जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा केही सिट जितेर राष्ट्रलाई नै चकित पार्‍यो । यो पार्टीको ‘जापानिज फर्स्ट’ भन्ने नाराले आफ्नो घरजस्तै मानेर बसेका थुप्रै विदेशी बासिन्दाका लागि जापान अब पहिलेको जस्तो सुरक्षित महसुस हुन छोडेको छ ।

यस नारालाई कतिपयले विदेशीप्रति घृणा फैलाउने प्रवृत्तिको रूपमा आलोचना गरेका छन् । सन् २०२४ मा जापानमा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतभन्दा बढेर ३.७६ मिलियन पुगेको छ, जुन लगातार तेस्रो वर्षको नयाँ कीर्तिमान हो । यो जापानको कुल जनसङ्ख्याको ३ प्रतिशतभन्दा बढी हो । सान्सेइटोका नेता सोहेई कामियाले यस वृद्धिलाई नयाँ आगन्तुकहरूबारे डर फैलाउन प्रयोग गरेका छन्, यद्यपि उनले आफ्नो पार्टीको भेदभाव गर्ने कुनै मनसाय नभएको दाबी गर्छन् ।

सन् २०२२ मा पहिलो पटक संसदमा निर्वाचित भएका कामियाले आफ्नो पार्टीको बलियो समर्थनले कर कटौती, अर्थतन्त्रलाई टेवा दिन सार्वजनिक खर्च बढाउने र तीव्र श्रम अभाव भए पनि वृद्ध जनसङ्ख्या भएको राष्ट्रमा विदेशी कामदारको आगमनलाई नियन्त्रण गर्ने मतदाताको अपेक्षालाई प्रतिविम्बित गरेको बताएका छन् ।

विदेशी बासिन्दामा बढ्दो चिन्ता
शिन सुगोक, जापानमा तेस्रो पुस्ताका कोरियाली हुन्। मानव संसाधन विकास सल्लाहकारका रूपमा कार्यरत उनी घृणित अभिव्यक्तिविरुद्ध लड्ने एउटा संस्थाकी प्रतिनिधि पनि हुन् । ‘जापानिज फर्स्ट’ आन्दोलनले भेदभाव, बहिष्कार र भीड हिंसालाई बढावा दिन सक्ने सम्भावनाबारे उनी गम्भीर चिन्ता व्यक्त गर्छिन् । चुनावी अभियानका क्रममा उनले एसियाली मूलका विदेशीहरूबाट थुप्रै गुनासोहरू प्राप्त गरिन्, जसले आफूहरू अब सडकमा हिँड्न पनि डराउने बताए । अस्पताल जाँदा वा फोनमा केही अर्डर गर्दा आफ्नो नाम भन्न पनि उनीहरू हिचकिचाउँछन् ।

सुगोक भन्छिन्, ‘जापानिज फर्स्ट विगतको भेदभावभन्दा गुणात्मक रूपमा फरक छ किनभने यसले जनसमुदायमा ऐक्यबद्धता सिर्जना गर्ने उद्देश्य राखेको छ ।’ उनी थप्छिन्, ‘हामी उत्कृष्ट छौँ र हाम्रा दुःखका लागि विदेशीहरू जिम्मेवार छन् भन्ने कुरालाई पुनः पुष्टि गर्न चाहने जनसमुदायको ऐक्यबद्धता देखिएको छ । भेदभाव र बहिष्कार जायज छ भन्ने विश्वास गर्ने मानिसहरू एकसाथ भेला हुन्छन् र सत्तामा रहेकाहरूसँग गठबन्धन बनाउँछन् । यो स्थिति प्रारम्भिक नाजी जर्मनीको जस्तै छ ।’‘जापानिज फर्स्ट’ नाराको अस्पष्टता
जर्मनीको म्युनिखमा जन्मिएकी र सन् १९९८ देखि जापानमा बस्दै आएकी सान्ड्रा हेफेलिन ‘जापानिज फर्स्ट’ भन्ने वाक्यांशबाट असहज छिन् किनभने ‘जापानी’ को परिभाषा अस्पष्ट छ । ‘म जापानी नागरिक हुँ र २७ वर्षदेखि जापानमा बस्दै आएकी छु, तर मलाई प्रायः मेरो उपस्थितिको आधारमा ‘विदेशी’ भनेर बुझिन्छ,’ हेफेलिन भन्छिन् । उनी एक टिभी व्यक्तित्व र निबन्धकार हुन् जसले जापानी भाषामै बहुसंस्कृतिवादका विषयमा लेख्छिन् ।

‘जब राजनीतिज्ञहरू ‘जापानी जनताका लागि’ भन्छन्, मलाई लाग्दैन कि उनीहरूले म जस्ता मानिसहरूलाई समावेश गर्छन् । म पक्का छु कि जापानमा धेरै विदेशी बासिन्दा र विदेशी जरा भएका जापानीहरूले पनि त्यस्तै महसुस गर्छन् ।’

यो नाराको प्रवर्द्धन गर्नेहरूले यो ‘जापानी राष्ट्रियता भएका मानिसहरू’ लाई जनाउँछ भनी तर्क गर्छन् । तथापि, मानिसहरूलाई प्रायः उनीहरूको उपस्थितिको आधारमा मूल्याङ्कन गरिन्छ। ‘यस्तो सन्दर्भमा, ‘जापानिज फर्स्ट’ लाई भेदभावलाई बढावा दिने उपकरणका रूपमा प्रयोग गर्न सकिन्छ,’ हेफेलिन भन्छिन् ।

हेफेलिनको विचारमा, अझ बढी चिन्ताजनक कुरा भनेको विदेशीहरूलाई राम्रो र नराम्रोमा विभाजन गर्ने प्रयास हो । ‘जर्मनीमा, उदाहरणका लागि, ‘गम्भीर आप्रवासी’ र ‘समस्याग्रस्त आप्रवासी’ बीच भिन्नता छुट्याउने आन्दोलन छ । तर यसको मापदण्ड कसले र कसरी तय गर्छ ?’ उनी प्रश्न गर्छिन् ।

हेफेलिन औंल्याउँछिन् कि जर्मनीमा सामूहिक बलात्कारजस्ता घटनाहरूका कारण आप्रवासी र शरणार्थीहरूप्रति अविश्वास तीव्र रूपमा बढेको थियो । तर, जापानमा त्यस्ता ठूला घटनाहरू नभएकाले, उनी विश्वास गर्छिन् कि ‘जापानिज फर्स्ट’ भन्ने नाराले ठूलो मात्रामा आर्थिक चिन्ता र असन्तुष्टिको कारण समर्थन प्राप्त गरेको छ ।

सान्सेइटो: एक अति दक्षिणपन्थी पार्टी ?
टोकियोको टेम्पल विश्वविद्यालयका प्राध्यापक जेफ किङ्सटनले सान्सेइटोलाई ‘अति दक्षिणपन्थी पार्टी’ मान्छन् किनभने यसले ऐतिहासिक संशोधनवादको वकालत गर्छ, शान्ति संविधानलाई अस्वीकार गर्छ, र अनिवार्य सैन्य सेवा तथा आणविक हतियारको परिचयको सन्दर्भले यसको अधिनायकवादी मनसाय स्पष्ट रूपमा प्रकट गर्छ ।

कामियाले आफूलाई ‘मिनी-ट्रम्प’को रूपमा प्रस्तुत गर्छन्, जसले संयुक्त राज्य अमेरिकामा MAGA आन्दोलनलाई शक्ति दिने उही गुनासोहरू र विश्वव्यापीकरण विरोधी भावनाहरूलाई उपयोग गर्ने प्रयास गरिरहेका छन्, किङ्सटन भन्छन् । पूर्व सुपरमार्केट प्रबन्धकको पपुलिस्ट, भावनात्मक अपीलले, विशेष गरी युवा पुस्तामा, नीतिहरू आफैंभन्दा बढी समर्थन आकर्षित गर्छ ।

‘धेरै युवा जापानीहरू आफूलाई बाहिरी व्यक्ति ठान्छन्, निराशाजनक सम्भावनाहरूको सामना गर्दै। कामियाले गुनासो र उग्र राष्ट्रवादसँग मिसिएको आशाको सन्देश प्रदान गर्छन्,’ किङ्सटन भन्छन् ।

आधुनिक जापानी इतिहास र दक्षिणपूर्वी एसियाली राजनीतिक तथा कूटनीतिक नीतिमा विशेषज्ञता हासिल गरेका किङ्सटनले ‘जापानिज फर्स्ट’ भन्ने नारा भेदभावपूर्ण होइन भन्ने विचारलाई ‘शुद्ध शब्दजाल’ भनेका छन्। ‘विदेशी बासिन्दाहरूको एकाग्रता सीमित गर्ने आह्वान भेदभावपूर्ण छ । यो जातीय राष्ट्रवादीहरूको विशिष्ट विशेषता हो, जसले अध्यागमनबारे कुरा गर्छन् तर आफ्नो मनसाय त्यस्तो नभएको अस्वीकार गर्छन्,’ उनी भन्छन् ।

किङ्सटन विश्वास गर्छन् कि विदेशी कामदारहरू बिना जापानी अर्थतन्त्र ‘अशक्त’ हुनेछ, र सत्तामा रहेकाहरूले उनीहरूको भूमिकालाई महत्त्व दिन्छन् । ‘सान्सेइटोले के गरेको छ भने, अध्यागमनलाई राजनीतिकरण गरी यसलाई सार्वजनिक विमर्शमा ल्याएको छ, जसले अन्य दलहरूलाई यस मुद्दामा आफ्नो अडान स्पष्ट पार्न बाध्य पारेको छ । अब, जिन्न बोतलबाट बाहिर निस्किएको छ । अबदेखि, यो बहसको विषय हुनेछ, र चरमपन्थी दलहरूले विदेशी विरोधी कार्ड खेल्ने प्रयास गर्नेछन् ।’

तपाईको प्रतिक्रिया