समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि सुरु हुने प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डलको भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने भएको हो। विश्वकै ठूला क्षेत्रीय सुरक्षा र आर्थिक संगठनमध्ये एक मानिने एससीओको यस शिखर सम्मेलनमा नेपालको उच्चस्तरीय उपस्थिति नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन र बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउन महत्त्वपूर्ण ठानिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ। प्रधानमन्त्रीको टोली भदौ १८ गते स्वदेश फर्कनेछ।








