समाचार सुन्नुहोस :
काठमाडौँ – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान सुरु गर्ने तयारी भएको छ। चीनको सिचुवान एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अनुमति प्रक्रियाबारे अनौपचारिक छलफल भइसकेको र सेप्टेम्बर महिनादेखि उडान सुरु गर्ने योजना रहेको छ।
यसअघि सिचुवान एयरलाइन्सले पोखरामा केही चार्टर्ड उडान गरिसकेको थियो। यदि अष्ट्रेलिया नियमित उडान सुरु भएमा अष्ट्रेलिया आवतजावत गर्ने नेपालीलाई ठूलो सुविधा हुने प्राधिकरणको विश्वास छ। हाल पोखरा विमानस्थलमा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ।
यस्तै, भूटान एयरलाइन्सले पनि सेप्टेम्बर २८ र अक्टोबरमा पोखराबाट पारोका लागि चार दिन यात्रु चार्टर्ड उडान गर्न अनुमति मागेको छ। चार्टर्ड उडान दिगो भएमा पोखराबाट दिल्लीसम्म विस्तार गर्ने योजनासमेत रहेको प्राधिकरणले जनाएको छ।
२०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल वार्षिक ८ लाख यात्रु क्षमता राख्छ। अहिले भैरहवा र काठमाडौंका साथसाथै पोखरालाई पनि अन्तरराष्ट्रिय उडान केन्द्र बनाउन पहल भइरहेको प्राधिकरणले जनाएको छ।








