
टोकियो — आर्थिक संकटमा परेको जापानी अटो निर्माता कम्पनी निसानले योकोसुकास्थित ओप्पामा कारखानामा सन् २०२७ को आर्थिक वर्षको अन्त्यपछि सवारीसाधन उत्पादन स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
गत वर्ष कम्पनीले ६७१ अर्ब येनको घाटा व्यहोरेपछि विश्वभर १५ प्रतिशत कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको निसानले आफ्नो दीर्घकालीन पुनर्संरचना रणनीतिअन्तर्गत जापानभित्रको एक पुरानो उत्पादन केन्द्र बन्द गर्न लागेको हो ।
कम्पनीको अनुसार, ओप्पामा प्लान्टको उत्पादन फुकुओका प्रिफेक्चर (क्युशु) मा अवस्थित अर्काे कारखानामा सारिनेछ । ओप्पामा प्लान्ट सन् १९६१ मा सञ्चालनमा आएको थियो र २०२४ को अक्टोबरसम्म यहाँ करिब ३,९०० कर्मचारी कार्यरत थिए ।
निसानले उक्त प्लान्टलाई विद्युतीय सवारी उत्पादनमा अग्रणी मानेको छ, जहाँ विश्वकै पहिलो ठूलो मात्रामा उत्पादन गरिएको इभी “Nissan LEAF” निर्माण गरिएको थियो ।
गम्भीर ऋणभार खेपिरहेको निसानले यस वर्षको सुरुतिर होन्डासँग सम्भावित गाभ्ने योजना असफल भएपछि, पुनः आफ्नो व्यावसायिक मोडल पुनरावलोकन गर्दै उत्पादन संयन्त्र कटौती गर्ने निर्णयमा पुगेको हो । कम्पनीले सन् २०२७ सम्ममा आफ्ना विश्वव्यापी उत्पादन केन्द्रहरू १७ बाट घटाएर १० पुर्याउने लक्ष्य लिएको छ ।
चिनियाँ इभी निर्माता कम्पनीहरूसँगको चर्को प्रतिस्पर्धा, उत्पादन मोडेलहरू पुरानो हुँदै जानु र अमेरिकाबाट लगाइएको उच्च आयात करका कारण निसान थप दबाबमा परेको छ ।
यस्तै, यसै वर्ष कम्पनीले दक्षिण जापानमा निर्माण गर्न लागिएको १ अर्ब डलरको ब्याट्री प्लान्ट योजना पनि “कठिन व्यापारिक अवस्था” भन्दै रद्द गरिसकेको छ ।
निसानका लागि एक सम्भावित रणनीतिक साझेदारको रूपमा ताइवानी प्रविधि कम्पनी फक्सकनलाई हेरिएको छ, जसले फेब्रुअरीमा रेनोल्टको निसानमा रहेको शेयर खरीद गर्न इच्छुक रहेको संकेत दिएको थियो । **** ऐजेन्सीको सहयोगमा








