काठमाडौं – कार्यकालको सुरुमा रुसप्रति नरम देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन नीतिमा नाटकीय ‘यु-टर्न’ लिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धमा चिसोपना आएसँगै ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने घोषणा मात्र गरेका छैनन्, रुसी भूमिमै आक्रमण गर्न युक्रेनी राष्ट्रपतिलाई उक्साएको समेत खुलासा भएको छ ।
प्रतिष्ठित पत्रिका ‘फाइनान्सियल टाइम्स’का अनुसार, पुटिनसँगको ‘खराब’ संवादपछि क्रुद्ध बनेका ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सोधेका थिए, ‘के तपाईं मस्कोमा हान्न सक्नुहुन्छ ?’ जेलेन्स्कीले हतियार पाए हान्ने जवाफ दिएका थिए ।
ट्रम्पले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र प्रणाली दिने र रुसलाई ५० दिनभित्र युद्धविराम नगरे कडा आर्थिक प्रतिबन्ध लगाउने अल्टिमेटम दिएका छन् । ‘म राष्ट्रपति पुटिनप्रति निराश छु,’ ट्रम्पले आफ्नो बदलिएको अडानबारे भनेका छन् ।
रुसले भने यसलाई ‘नौटंकी’ भन्दै खारेज गरेको छ । अर्कोतर्फ, चीनले रुसलाई आफ्नो बलियो साथ रहने स्पष्ट पारेको छ । ट्रम्पको यो अप्रत्याशित र आक्रामक कदमले युक्रेन युद्धलाई नयाँ मोडमा पुऱ्याएको छ, जसले विश्व शक्तिहरूबीचको टकराव थप चर्काउने संकेत गरेको छ ।








