काठमाडौं – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनलाई युद्धमा सघाउन आफूले ‘उन्नत अस्त्रहरू’ पठाउन लागेको घोषणा गरेका छन् ।
अमेरिकाको स्थानीय समयानुसार आइतवार राति बोल्दै उनले त्यसरी पठाउन लागिएका लागेका अस्त्रमा ‘प्याट्रिअट’ क्षेप्यास्त्रहरू भएको पुष्टि गरेका छन् । युक्रेनलाई सैन्य सहयोग गर्न लागेको र पुटिनको विषयमा उनले बोलेको कुरालाई निकै महत्त्वपूर्ण मानिएको छ ।
ट्रम्प केही समयअघिसम्मका उनका सार्वजनिक उद्गारहरूमा पुटिनप्रति उदार देखिएका थिए । तर उनले पछिल्लो समयमा आफ्नो धारणा र भाषा फेरेका छन् । रुसले युक्रेनमाथि हवाई आक्रमण बढाएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता अमेरिकाले युक्रेनलाई पुनः सैन्य सामग्रीको आपूर्ति गर्न थालेको बताएका थिए । ‘हामीले वस्तुतः उनीहरूलाई [युक्रेनलाई] धेरै वटा निकै उन्नत सैन्य [उपकरण] पठाउन लागेका छौँ,’ सञ्चारकर्मीहरूलाई उनले भने ।
ट्रम्पले अहिले आपूर्ति गरिएका सामग्रीका लागि अमेरिकाले शत प्रतिशत भुक्तानी पाउने बताए । निकै पहिलादेखि नै त्यसो हुनुपर्थ्यो । तर त्यस्तो भुक्तानी युक्रेन, ईयू, नेटो वा सबै पक्षबाट संयुक्त हुने भन्ने अस्पष्ट छ । ट्रम्पले अहिले युक्रेनलाई दिन लागिएका अस्त्रहरूको सङ्ख्या खुलाउन अस्वीकार गरे । ‘हामी उनीहरूलाई ‘प्याट्रिअट’ पठाउँछौँ जुन उनीहरूलाई निकै आवश्यक छ ।’








