समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज गीतका नाममा विकृति र अश्लीलता फैलाउनेहरूमाथि कारबाही गर्ने तयारी गरेको छ। बिहीबार जारी गरिएको विज्ञप्तिमा यस्ता सामग्री उत्पादन तथा प्रचारप्रसार गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिने चेतावनी दिइएको छ।
संस्थाले पछिल्ला वर्षहरूमा तीज पर्वलाई व्यापारिक फाइदाको माध्यम बनाउँदै सामाजिक मर्यादा विपरीतका अश्लील र भड्किला गीतहरू सार्वजनिक हुने गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा तीजलाई नारी सशक्तीकरण, धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक सम्मानको पर्व भन्दै यसको साङ्गीतिक प्रस्तुतिमा मौलिकता, सन्देशमूलक भावना र सभ्य भाषा प्रयोग हुनुपर्ने उल्लेख गरिएको छ।
सञ्चारकर्मी नेपालले यस्ता विकृति रोक्न सबैलाई आग्रह गर्दै आपत्तिजनक गीत तथा भिडियो निर्माण, प्रकाशन र प्रसारण गर्नेहरूमाथि कारबाहीका लागि सूचना तथा सञ्चार मन्त्रालय, साइबर ब्युरो, कलाकार सङ्गठनलगायत निकायमा औपचारिक निवेदन दिने जनाएको छ।








