Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी मुलुकहरूबाट अमेरिका भित्रिने तामामा अब ५० प्रतिशतको नयाँ कर लगाइने बताएका छन् ।

यो निर्णय ट्रम्पले यस वर्षको सुरुमा गरेका महसुल सम्बन्धी चेतावनीहरूलाई कार्यान्वयनमा ल्याएको हो । त्यो बेला उनले आयातित तामाले राष्ट्रिय सुरक्षामा कसरी असर गरिरहेको छ भन्ने अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

यस्तै प्रकारका अनुसन्धानहरू औषधि उद्योग, सेमिकन्डक्टर, काठ लगायतका क्षेत्रमा पनि अगाडि बढ्दैछन् । ट्रम्पले यी सबै क्षेत्रमा लगाइने महसुलले अमेरिकी उद्योगको सुरक्षा र प्रवर्द्धन गर्ने दाबी गर्दै आएका छन् । ट्रम्पको घोषणापछि अमेरिकी बजारमा तामाको मूल्य ऐतिहासिक रूपमा उच्च भएको छ । वाणिज्य सचिव हावर्ड लटनिकले यो नयाँ कर व्यवस्था यस महिनाको अन्त्यतिर लागू हुने अपेक्षा गरिएको बताएका छन् ।

लटनिकका अनुसार ट्रम्पले यस निर्णयलाई औपचारिक बनाउने कागजातहरू केही दिनमै हस्ताक्षर गर्नेछन् । ट्रम्पले उक्त निर्णय क्याबिनेट बैठकको एक टेलिभिजन प्रसारणमा सहज रूपमा खुलासा गरेका थिए । “आज हामी तामाको विषयमा कदम चाल्दैछौं,” ट्रम्पले भने  “हामी यसलाई ५० प्रतिशत बनाउँदैछौं ।”

अमेरिकाले गत वर्ष करिब ८१०,००० मेट्रिक टन परिष्कृत तामा आयात गरेको थियो, जुन देशले उपभोग गरेको कुल परिमाणको करिब आधा हो। अमेरिकी भूगर्भ विभागका अनुसार चिली तामाको सबैभन्दा ठूलो आपूर्तिकर्ता थियो, त्यसपछि क्यानाडा दोस्रो स्थानमा थियो । 

तामा सैन्य उपकरण, विद्युतीय सवारीसाधन र निर्माण सामग्रीमा प्रमुख रुपमा प्रयोग हुने धातु हो। हाल अमेरिका तामामा जुन महसुल लगाउँछ, त्यो सामान्यतः ५० प्रतिशतभन्दा धेरै कम छ । नयाँ ५० प्रतिशत दर स्टील र एलुमिनियम उत्पादनहरूमा हालै लगाइएको महसुल बराबर हुनेछ, तर यो धेरै उद्योग विश्लेषकहरूको अपेक्षाभन्दा उच्च छ ।

केही उद्योग प्रतिनिधिहरूले अन्तिम आदेश सार्वजनिक नभएसम्म प्रतिक्रिया नदिने बताएका छन् र केही देश वा उत्पादनहरूलाई छुट दिइन सक्ने सम्भावना रहेको जनाएका छन् । चिलीको सरकारी तामा उत्पादक कम्पनी कोडेल्कोका अध्यक्षले भने, “यो सबै देशहरूमा लागु हुन्छ कि केहीमा मात्र भन्ने कुरा हेर्नुपर्छ ।”

काटो इन्स्टिच्युटका अर्थशास्त्र तथा व्यापार उपाध्यक्ष स्कट लिंसिकमले यो घोषणा “पहिलेकै जस्तै” भएको भन्दै त्यसले अन्योलता सिर्जना गरे तापनि उच्च महसुल आउने स्पष्ट सङ्केत दिएको बताए । “हामी ऐतिहासिक रूपमा उच्च अमेरिकी महसुलहरूको नयाँ स्तरतिर गइरहेका छौं । अहिलेको बहस केवल यस्को सही अंक र दायराको विषयमा हो,” उनले भने। यो कदमले अमेरिकी उत्पादकहरूलाई फाइदा पुर्‍याए तापनि तामा इनपुटको रूपमा प्रयोग गर्ने धेरै अमेरिकी कम्पनीहरूलाई क्षति पुग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया