टोकियो – जापानमा महँगीको तुलनामा तलब वृद्धि सुस्त हुँदा आम नागरिकको वास्तविक आम्दानीमा लगातार गिरावट आएको छ । सोमबार सार्वजनिक सरकारी तथ्यांकअनुसार मे महिनामा जापानको वास्तविक तलब गत वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको छ । यो गिरावट लगातार पाँचौं महिना हो भने करिब दुई वर्षयताकै सबैभन्दा ठूलो पनि हो।
वास्तविक तलबमा आएको यो तीव्र गिरावटले उपभोक्ताको खरिद शक्तिमा थप संकुचन आएको संकेत गरेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार अप्रिलमा २.० प्रतिशतले घटेको वास्तविक तलब मे महिनामा बोनस जस्ता विशेष भुक्तानीमा आएको कमीका कारण थप ओरालो लागेको हो ।
तलब बढ्यो, तर महँगीले जित्यो
तथ्यांकअनुसार, आधारभूत तथा ओभरटाइम भुक्तानीसहितको औसत कुल मासिक नगद आम्दानी (सांकेतिक तलब) भने १.० प्रतिशतले बढेर ३,००,१४१ येन (लगभग २,००० अमेरिकी डलर) पुगेको छ । यो लगातार ४१औं महिनाको वृद्धि हो ।
यस वर्षको वसन्तकालीन तलब वार्तामा जापानी कम्पनीहरूले औसतमा ५.२५ प्रतिशतले तलब बढाउन सहमति जनाएका थिए, जुन लगातार दोस्रो वर्ष ५ प्रतिशतभन्दा बढीको वृद्धि हो । तर, चामल र अन्य खाद्य वस्तुको मूल्यवृद्धिका कारण मे महिनामा उपभोक्ता मूल्य ४.० प्रतिशतले बढ्यो, जसले गर्दा तलब वृद्धिले महँगीलाई भेट्न सकेन र मुद्रास्फीति-समायोजित वास्तविक तलब ऋणात्मक रहन पुग्यो ।
मन्त्रालयका एक अधिकारीका अनुसार, मे महिनामा बोनस तथा यातायात भत्ताजस्ता विशेष आम्दानी १८.७ प्रतिशतले घटेर १२,५९५ येनमा झरेको थियो । मे महिनामा थोरै कम्पनीहरूले मात्र बोनस वितरण गरेकाले यस्तो देखिएको उनको भनाइ छ ।
धेरै कम्पनीहरूले जुन महिनामा बोनस भुक्तानी गर्ने भएकाले आगामी तथ्यांकमा विशेष आम्दानी बढ्ने अपेक्षा गरिएको छ । तर, त्यसले वास्तविक तलबलाई सकारात्मक बनाउन मद्दत गर्छ वा गर्दैन भन्नेमा अनिश्चितता कायमै रहेको अधिकारीहरू बताउँछन् । गत वर्ष जुन, जुलाई, नोभेम्बर र डिसेम्बरजस्ता बोनस वितरण हुने महिनाहरूमा वास्तविक तलबमा वृद्धि देखिएको थियो ।








