
टोकियो – जापानमा कम्पनीहरू यो वर्षको वसन्तकालीन तलब वार्तामा औसत ५ दशमलब २५ प्रतिशतले ज्याला बढाउन सहमत भएका छन् । तलब वृद्धि ५ प्रतिशत नाघेको यो लगातार दोस्रो वर्ष हो । यद्यपि, देशको सबैभन्दा ठूलो ट्रेड युनियन महासंघले बिहीबार बताएअनुसार, यो वृद्धिले निरन्तर बढिरहेको महँगीलाई भने जित्न सकेको छैन ।
जापानी ट्रेड युनियन कन्फेडेरेसन (रेङ्गो) का अनुसार ५ हजारभन्दा बढी सदस्य युनियनहरूसँगको तलब वार्ताको अन्तिम नतिजाले औसत मासिक तलब १६ हजार ३५६ येन (लगभग ११० अमेरिकी डलर) ले बढेको देखाएको छ । गत वर्ष ३३ वर्षमा पहिलो पटक तलब ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।
यद्यपि, साना तथा मझौला कम्पनीहरूमा भने तलब वृद्धि ठूला कम्पनीहरूको तुलनामा पछाडि परेको छ । ती कम्पनीहरूमा औसत ४ दशमलब ६५ प्रतिशत अर्थात् १२ हजार ३६१ येनले मात्र तलब बढेको छ । रेङ्गोका कार्यकारी निर्देशक अकिरा निदाइराले भने, ‘तलब बढाउने कम्पनीहरूको दायरा फराकिलो भएको छ, तर साना तथा मझौला कम्पनीहरूले ५ प्रतिशतको लक्ष्य हासिल गर्न नसक्नु दुःखद हो । हामीले ठूला र साना कम्पनीबीचको यो बढ्दो खाडललाई रोक्न सकेनौं ।’
पछिल्लो सरकारी तथ्याङ्कले पनि अप्रिल महिनामा लगातार चौथो महिना वास्तविक ज्याला घटेको देखाएको छ, किनकि उपभोक्ता मूल्यवृद्धि निरन्तर बढिरहेको छ । तलब बढे पनि महँगीको मारले गर्दा आम नागरिकको खरिद शक्तिमा सुधार आउन सकेको छैन । मित्सुबिसी यूएफजे रिसर्च एन्ड कन्सल्टिङ कम्पनीका अर्थशास्त्री शिन्निचिरो कोबायाशीले भने, ‘कम्पनीहरूको नाफा र आर्थिक सबलतामा देखिएको भिन्नता स्पष्ट भएको छ, उनले थपे, ‘तलबको यो अन्तरका कारण साना उद्यमहरूलाई कर्मचारी भर्ना गर्न र टिकाइराख्न कठिनाइ हुन सक्छ ।’
सन् १९९५ देखि वसन्तकालीन तलब वार्तामा ज्याला वृद्धि ३ प्रतिशतभन्दा तल रहँदै आएकोमा सन् २०२३ मा यो बढेर ३ दशमलब ५८ प्रतिशत पुगेको थियो । जापान बिजनेस फेडरेसनको प्रारम्भिक तथ्याङ्क अनुसार, प्रमुख कम्पनीहरूमा युनियन सदस्यहरूका लागि ग्रीष्मकालीन बोनस कीर्तिमानी औसत ९ लाख ९० हजार ८४८ येन पुगेको छ । यो सन् १९८१ मा तथ्याङ्क सङ्कलनको वर्तमान विधि सुरु भएयताकै उच्च हो ।








