काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा निरन्तर अशिष्ट र अपमानजनक टिप्पणीमार्फत चरित्रहत्या गरेको आरोपमा प्रहरीले गुन्जन राईलाई पक्राउ गरेको छ । अनलाइन दुर्व्यवहारविरुद्ध गायिका चौहानले दिएको औपचारिक उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले राईलाई ललितपुरको बाडेगाउँबाट पक्राउ गरेको हो ।
ब्युरोका सूचना अधिकृत, प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार चितवन स्थायी घर भएका ३३ वर्षीय राईलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइनेछ । गायिका चौहानले आफूमाथि निरन्तर भइरहेको साइवर हमला र चरित्रहत्याको प्रयास असह्य भएपछि प्रमाणसहित ब्युरोमा उजुरी दिएकी थिइन् । ‘उहाँको उजुरीमा उल्लेखित व्यक्तिमध्ये एकजनालाई पक्राउ गरिएको हो, अन्यको पनि खोजी भइरहेको छ,’ अवस्थीले भने ।
पछिल्लो समय गायिका चौहानले आफूलाई सामाजिक सञ्जालमा आउने अभद्र र अश्लील सन्देश तथा कमेन्टहरू सार्वजनिक गर्दै अनलाइन दुर्व्यवहारविरुद्ध आवाज उठाउँदै आएकी थिइन्। उनको यो कदमले सामाजिक सञ्जालमा महिलामाथि हुने हिंसा र दुर्व्यवहारको विषयलाई सतहमा ल्याएको छ ।
पक्राउ परेका राई एक कवि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी उत्कृष्ट २५ भित्र पर्न सफल भएका थिए ।








