Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – मध्यपूर्वमा बढ्दो तनाव र अमेरिका तथा इजरायलबाट सामना गर्नुपरेको सुरक्षा खतराबीच इरानले आफ्नो पुरानो हुँदै गएको वायुसेनालाई आधुनिकीकरण गर्ने प्रयासलाई तीव्रता दिएको छ । यसै क्रममा, रुससँगको सुखोई एसयू-३५ लडाकु विमान खरिद सम्झौतामा समस्या देखिएपछि इरानले चीनसँग दर्जनौँ ‘जे-१०सी’ बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्तालाई अन्तिम चरणमा पुर्‍याएको खुलासा भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द मस्को टाइम्स’ को एक रिपोर्टअनुसार, तेहरानले हाल चीनसँग कम्तीमा ३६ वटा चेङ्दु जे-१०सी विमान खरिदका लागि गहन वार्ता गरिरहेको छ । यो कदमले इरानको हतियार खरिद रणनीतिमा आएको सम्भावित परिवर्तनलाई संकेत गरेको छ । यसअघि सन् २०२३ मा इरानले रुसबाट ५० वटा एसयू-३५ विमान खरिद गर्ने योजना बनाएको थियो, तर हालसम्म केवल चारवटा विमान मात्र प्राप्त भएको र सम्झौता नै अवरुद्ध बनेको रिपोर्टहरूले देखाएका छन् ।

गत महिना इजरायल र अमेरिकाले इरानका आणविक पूर्वाधारलगायत विभिन्न संवेदनशील स्थानहरूमा संयुक्त हवाई आक्रमण गरेपछि आफ्नो आकाशको सुरक्षा गर्न अत्याधुनिक लडाकु विमानको आवश्यकता झनै टड्कारो बनेको सैन्य विश्लेषकहरूको भनाइ छ ।

इरानले चिनियाँ जे-१० लडाकु विमानमाथि लामो समयदेखि रुचि देखाउँदै आएको थियो । सन् २०१५ मा इरानले चीनसँग करिब १५० वटा विमान खरिद गर्ने प्रयास गरेको थियो, तर त्यो प्रयास सफल हुन सकेन । ‘मिलिटार्नी’का अनुसार, भुक्तानीको माध्यममा देखिएको विवादका कारण उक्त सम्झौता असफल भएको थियो । चीनले विदेशी मुद्रामा भुक्तानी गर्न जोड दिएको थियो भने, पश्चिमा देशहरूको कडा प्रतिबन्धका कारण नगद अभाव झेलिरहेको इरानले तेल र ग्यासमार्फत भुक्तानी गर्ने प्रस्ताव गरेको थियो । त्यस समयमा संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धले पनि वार्तालाई थप जटिल बनाएको थियो, जुन अहिले हटिसकेको छ ।

चिनियाँ जे-१०सी एक ४.५ पुस्ताको एकल-इन्जिन भएको लडाकु विमान हो, जुन लामो दूरीसम्म मार हान्न सक्ने ‘पीएल-१५’ हवाइ मिसाइल प्रणालीसँग सुसज्जित छ । यो विमान हाल इरानको छिमेकी तथा चीनको रणनीतिक साझेदार पाकिस्तानी वायुसेनाले समेत प्रयोग गरिरहेको छ ।

प्राविधिक र आर्थिक दृष्टिकोणले जे-१०सी लाई रुसी एसयू-३५ को तुलनामा एक सक्षम र प्रभावकारी विकल्पको रूपमा हेरिएको छ । रुसी एसयू-३५ को मूल्यभन्दा यो विमान करिब ४० देखि ६० मिलियन डलर सस्तो पर्छ, जसले गर्दा आर्थिक संकट झेलिरहेको इरानका लागि यो एक आकर्षक विकल्प बनेको हो ।

तपाईको प्रतिक्रिया