काठमाडौं – अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गतका परियोजनालाई निरन्तरता दिन अनुमति दिएको छ । वैदेशिक सहायतामा लगाइएको अस्थायी रोक फुकुवा गर्दै ‘विशेष छुट’ अन्तर्गत परियोजना अघि बढाउन स्वीकृति दिएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) लाई कार्यान्वयनको बाटो खुलेको हो ।
एमसीए-नेपालले बुधबार एक विज्ञप्ति जारी गरी अमेरिकी सरकारको उक्त निर्णयको स्वागत गरेको छ । ‘मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यो निर्णयसँगै एमसीए-नेपालले अब २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत आयोजनासँग सम्बन्धित रोकिएका खरिद प्रक्रियालाई अगाडि बढाउनेछ । यसका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग निकट सहकार्यमा काम गरिने विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी सरकारले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थाल्नुअघि नै सुरु भइसकेका तीनवटा सबस्टेसन र १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणको काम भने निरन्तर चलिरहेको एमसीए-नेपालले जनाएको छ । तर, नयाँ खरिद प्रक्रियाहरू भने रोकिएका थिए ।
एमसीए-नेपालले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा दूरगामी प्रभाव पार्ने यी महत्त्वपूर्ण पूर्वाधार आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ । अमेरिकी सरकारको पछिल्लो निर्णयले परियोजना कार्यान्वयनमा देखिएको अनिश्चितता हटेको छ ।








