काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीबीच सामाजिक सञ्जालमा वाकयुद्ध चर्किएको छ । खामेनीले इजरायलसँगको द्वन्द्वमा इरान विजयी भएको भनी दिएको अभिव्यक्तिप्रति आक्रामक प्रतिक्रिया जनाउँदै ट्रम्पले खामेनीको भनाइलाई ‘मुर्खतापूर्ण र झुटो’ भनेका छन् । उनले इरान ध्वस्त भइसकेको र आफूले खामेनीलाई ‘अपमानजनक मृत्यु’ बाट बचाएको समेत सनसनीपूर्ण दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक लामो पोष्ट लेख्दैराष्ट्रपति ट्रम्पले भनेका छन्, ‘आयतुल्लाह अली खामेनीले इजरायलसँगको युद्ध जितेको भनेर किन यस्तो मुर्खतापूर्ण अभिव्यक्ति दिए ? उनलाई राम्रोसँग थाहा छ कि यो सरासर झुट हो र उनले यस्तो बोल्नु हुँदैनथ्यो ।’
ट्रम्पले आफ्नो पोष्टमा इरानलाई ध्वस्त पारिएको दाबी गर्दै इरानका तीनवटा आणविक केन्द्रहरू नष्ट भएको समेत उल्लेख गरेका छन् । यद्यपि, यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन । आफ्नो आक्रामक टिप्पणीलाई थप व्यक्तिगत बनाउँदै ट्रम्पले लेखेका छन्, ‘उनी (खामेनी) कहाँ लुकेका थिए भन्ने मलाई थाहा थियो । मैले इजरायल वा अमेरिकी सैन्य बललाई उनको हत्या गर्न दिइनँ । मैले उनलाई अत्यन्त अपमानजनक मृत्युबाट बचाएँ । यसका लागि उनले मलाई धन्यवाद, राष्ट्रपति ट्रम्प भन्नु पर्दैन ।’
यो वाकयुद्धले अमेरिका र इरानबीचको सम्भावित वार्ताको भविष्यमा समेत प्रश्न उठाएको छ । केही समयदेखि ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको बताइएको थियो, तर खामेनीको पछिल्लो अभिव्यक्तिपछि उनले आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्ने संकेत गरेका छन् ।
ट्रम्पको अपमानजनक टिप्पणीप्रति इरानले कडा प्रतिक्रिया दिएको छ । इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले यदि अमेरिका साँच्चै इरानसँग कुनै सम्झौता गर्न चाहन्छ भने राष्ट्रपति ट्रम्पले सर्वोच्च नेता खामेनीप्रति अपमानजनक भाषा प्रयोग गर्न बन्द गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा उनले लेखेका छन्, ‘राष्ट्रको रूपमा हाम्रो मूल मान्यता सरल र स्पष्ट छ । हामी आफ्नो मूल्यमान्यताप्रति सचेत छौँ र आफ्नो स्वतन्त्रतालाई सबैभन्दा बढी महत्व दिन्छौँ । हामी कसैलाई पनि हाम्रो भाग्य निर्धारण गर्ने अनुमति दिँदैनौँ ।’








