Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा चामलको मूल्यमा ऐतिहासिक वृद्धि भएपछि खर्चप्रति सचेत उपभोक्ताहरूले भात खान कम गर्न थालेका छन् । यही बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै ठूला रेस्टुरेन्ट चेन र खाद्य कम्पनीहरूले आफ्नो मेनुमा भातको सट्टा चाउचाउ र नुडल्सलाई प्राथमिकता दिन थालेका छन् ।

‘डेन्सेत्सु नो सुतादोनिया’ नामक पोर्क राइस बाउल (बंगुरको मासु र भात) रेस्टुरेन्ट सञ्चालन गर्ने कम्पनी ‘एन्टवर्क्स कम्पनी’ले आफ्नो व्यवसायमा विविधीकरण गर्न गत मे महिनामा टोकियोमा पहिलो पटक रामेन (जापानी चाउचाउ) रेस्टुरेन्ट खोलेको छ । कम्पनीले आगामी फेब्रुअरीसम्ममा थप तीनवटा रामेन रेस्टुरेन्ट खोल्ने योजना बनाएको छ । ‘हामीले हाम्रो पोर्क बाउल व्यवसायलाई सधैँ प्राथमिकतामा राख्यौं, तर अहिले चामलको मूल्य केही वर्ष पहिलेको तुलनामा तीन गुणाभन्दा बढीले महँगिएको छ,’ टोकियोस्थित उक्त रेस्टुरेन्ट चेनका एक प्रवक्ताले भने ।

सन् २०२१ मा ६३० येनमा पाइने मिसो सुप र काँचो अण्डासहितको पोर्क राइस बाउल सेटको मूल्य अहिले बढेर ८९० येन ($६) पुगेको छ । प्रवक्ताका अनुसार यदि यसको मूल्य १,००० येनभन्दा माथि पुर्‍याउने हो भने ग्राहकहरू आउनै छाड्नेछन् । ‘यदि हामीले भातको परिकारमा मात्रै ध्यान केन्द्रित गरिरह्यौं भने हाम्रो व्यवसायको भविष्य थप संकटमा पर्नेछ,’ उनले भने । उनका अनुसार एउटा रामेन नुडल परिकारको लागत पोर्क बाउलको तुलनामा १०० देखि १५० येनसम्म सस्तो पर्छ ।

जापानको अर्को प्रमुख बीफ बाउल (गाईको मासु र भात) रेस्टुरेन्ट सञ्चालक ‘योशिनोया होल्डिङ्स’ले पनि आफ्नो रामेन नुडल व्यवसायलाई बलियो बनाइरहेको छ । कम्पनीले जापानमा बीफ बाउल रेस्टुरेन्टको बजार अब संतृप्त भइसकेको निष्कर्ष निकालेको छ । योशिनोया होल्डिङ्सका कार्यकारी उपाध्यक्ष नोरिहिरो ओजावाका अनुसार रामेन व्यवसायले कम्पनीलाई चामल र मासुबाहेकका सामग्रीको लागतमा सन्तुलन मिलाउन मद्दत गर्छ ।

जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार बाली उत्पादनमा कमी आएका कारण चामलको मूल्य एक वर्ष पहिलेको तुलनामा दोब्बर भएको छ । सरकारी गोदामबाट चामल बजारमा पठाउँदा पनि मूल्य नियन्त्रण हुन सकेको छैन । जुन ८ सम्मको तथ्याङ्कअनुसार ५ किलोग्राम चामलको औसत मूल्य ४,१७६ येन पुगेको छ ।

सुपरमार्केटहरूमा पनि उपभोक्ताहरू चामलको विकल्प खोजिरहेका छन् । ‘टेबलमार्क कम्पनी’का अनुसार गत अप्रिल र मे महिनामा यसको फ्रोजन उडोन (एक प्रकारको मोटो नुडल) को बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, ‘किक्कोमान कर्पोरेसन’को तयारी उडोन नुडल सुप र सामग्रीको बिक्री पनि गत तीन महिनामा १० प्रतिशतले वृद्धि भएको छ ।

यसैबीच, ‘मेइजी होल्डिङ्स’ले आफ्नो मुख्य उत्पादन ‘मेइजी बुल्गेरिया योगर्ट’ (दही) को बिक्री गत वर्षको अप्रिलदेखि हरेक महिना करिब १० प्रतिशतले बढिरहेको बताएको छ। ‘चामलको मूल्य बढेसँगै जापानीहरूको बिहानको खाजामा पाउरोटी र सिरियलजस्ता पश्चिमा शैलीका खानेकुराहरू लोकप्रिय हुँदै गएका छन्,’ मेइजी होल्डिङ्सका एक अधिकारीले भने ।

तपाईको प्रतिक्रिया