टोकियो – जापानको एक बगैँचाबाट करिब १० लाख येन (लगभग ७,००० अमेरिकी डलर) मूल्य बराबरको २०० किलोग्राम प्रिमियम चेरी चोरी भएको छ । उत्तरपूर्वी जापानको यामागाटा प्रिफेक्चरस्थित कामिनोयामा शहरको एक बगैँचामा यो घटना भएको हो ।
प्रिफेक्चरल प्रहरीका अनुसार, बगैँचामा रहेका कुल ६७ वटा चेरीका रूखमध्ये चोरहरूले सबैभन्दा लोकप्रिय र महँगो मानिने ‘सातो निकिसी’ जातका चेरी मात्र चोरेका छन् । उक्त जातका करिब ५० वटा रूखका फल टिपेर सखाप पारिएको थियो ।
बगैँचाका ७४ वर्षीय मालिकले आइतबार बिहान करिब ५ बजे चोरी भएको थाहा पाएपछि सोही दिन दिउँसो प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार, शुक्रबार दिउँसो अन्तिम पटक बगैँचा हेर्दा त्यहाँ कुनै पनि किसिमको गडबडी वा असामान्य गतिविधि देखिएको थिएन ।
यामागाटा प्रिफेक्चर जापानमा चेरी उत्पादनका लागि सबैभन्दा प्रसिद्ध मानिन्छ । तर, गत वर्ष अत्यधिक गर्मीका कारण यहाँको उत्पादन अहिलेसम्मकै खराब रहेको थियो । जापानमा यो विशेष जातको चेरीलाई महँगो उपहारका रूपमा दिइन्छ र ठूला तथा स्तरीय रेस्टुरेन्टहरूमा परिकार बनाउन प्रयोग गरिन्छ ।








