Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन तीव्र गतिमा बढिरहेका बेला स्थानीयहरूले भन्ने गरेको एउटा भनाइ यतिबेला क्योटो सहरका लागि भने तथ्याङ्कगत रूपमै सत्य साबित भएको छ । ‘आजभोलि पर्यटकीय स्थलहरूमा जापानीभन्दा विदेशी नै धेरै देखिन्छन्’ भन्ने भनाइ अब क्योटोका होटलहरूको हकमा आधिकारिक रूपमा पुष्टि भएको हो ।

क्योटो नगरपालिका सरकारले हालै सार्वजनिक गरेको सन् २०२४ को पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार, गत वर्ष क्योटो सहरभित्रका होटलहरूमा ८२ लाख १० हजार विदेशी पर्यटकहरू बसे । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो र अघिल्लो वर्षको तुलनामा ५३.२ प्रतिशतले बढी हो । यो आँकडासँगै इतिहासमा पहिलो पटक क्योटोका होटलहरूमा बस्ने जापानी पर्यटकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी भएको छ ।

सोही अवधिमा ८० लाख ९० हजार जापानी नागरिकहरूले मात्र क्योटोका होटलमा बास बसेका थिए । तथ्याङ्कले जापानी पाहुनाको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशतले गिरावट आएको देखाएको छ । पर्यटकीय स्थलहरूमा अत्यधिक भीडभाड, सार्वजनिक यातायातमा चाप र सबैभन्दा महत्त्वपूर्ण, होटलको बढ्दो मूल्यले जापानी पर्यटकहरूका लागि क्योटो कम आकर्षक गन्तव्य बन्न थालेको छ ।

यसैबीच, क्योटो सिटी टुरिजम एसोसिएसनले अप्रिल २०२४ मा सहरका १०६ वटा होटलमा गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गरेको थियो। सर्वेक्षणअनुसार, होटलको प्रति रातको औसत मूल्य ३०,६४० येन पुगेको छ, जुन सन् २०१४ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा महँगो हो । यो पहिलो पटक हो जब औसत मूल्य ३०,००० येनभन्दा माथि गएको छ । अनुकूल विनिमय दरका कारण विदेशी पर्यटकहरूलाई यो महँगीले खासै असर नगरे पनि, बढ्दो उपभोक्ता मूल्यसँग जुधिरहेका जापानी नागरिकका लागि भने होटलको यो मूल्यवृद्धि ठूलो बोझ बनेको छ ।

तपाईको प्रतिक्रिया