Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मानवीय संवेदनालाई बेवास्ता गर्दै स्वास्थ्य समस्याका कारण ह्विलचेयर प्रयोग गर्ने यात्रुसँग समेत शुल्क असुल्न थालेको घटना सार्वजनिक भएको छ । सामान्यतया विश्वका अधिकांश वायुसेवा कम्पनीले निःशुल्क उपलब्ध गराउने यो मानवीय सेवामा निगमले शुल्क लिन थालेको घटना तथ्य बाहिर आएको हो ।

जापानको टोकियोमा बस्दै आउनुभएकी नेपाली नागरिक ग्रीष्मा पौड्यालले हालै नेपाल आउँदा र फर्कंदा ह्विलचेयर प्रयोग गरेबापत आफूलाई दुई पटकसम्म शुल्क तिर्न बाध्य पारिएको गुनासो गर्नुभएको छ । स्वास्थ्य अवस्थाका कारण हिँडडुलमा कठिनाइ भएपछि उहाँले ह्विलचेयर सेवा लिनुभएको थियो ।

पौड्यालका अनुसार, जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउँदा निगमका कर्मचारीले ह्विलचेयर प्रयोगका लागि ५० अमेरिकी डलर मागेका थिए । त्यसैगरी, नेपालबाट जापान फर्कने क्रममा नारिता विमानस्थलमा ओर्लिएपछि ह्विलचेयर प्रयोग गरेबापत उहाँसँग ६ हजार जापानी येन असुलिएको थियो । उहाँले सो रकम तिरेको रसिद पनि सार्वजनिक गर्नुभएको छ ।प्राप्त रसिदमा नेपाल वायुसेवा निगम, फाइनान्स डिपार्टमेन्ट उल्लेख छ र जारी गरिएको स्थान ‘नारिता, जापान’ लेखिएको छ । मिति २०२५-०६-०२ अंकित रसिदमा ६,००० रकम बुझेको र प्रयोजनमा ‘Arrival Whcr’ (सम्भवतः ‘Arrival Wheelchair’ को संक्षिप्त रूप) लेखिएको देखिन्छ ।

पौड्यालका अनुसार, शुल्कबारे प्रश्न गर्दा निगमका कर्मचारीले अचेल आवश्यक नपर्ने व्यक्तिले पनि ह्विलचेयर मागेर दुःख दिन थालेकाले शुल्क अनिवार्य गरिएको जवाफ दिएका थिए । ‘आवश्यकता नभएकाहरूले पनि रहरले ह्विलचेयर माग्न थालेकाले अबदेखि पैसा लाग्ने नियम बनाइएको हो,’ कर्मचारीको भनाइ उद्धृत गर्दै पौड्यालले भन्नुभयो, ‘पैसा लाग्ने भनेपछि कतिपय नेपालीले चाहिँदैन भनेर आफैँ हिँड्छन् र दुःख दिन्छन् भन्ने तर्क उनीहरूको थियो ।’यसैबीच, पौड्यालले आफू इन्डिगो एयरलाइन्समार्फत भारतको मुम्बई जाँदा पनि ह्विलचेयर प्रयोग गरेको तर त्यसका लागि कुनै शुल्क नलागेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘इन्डिगो एयरलाइन्सले एक पैसा पनि लिएन र कर्मचारीले कुनै झन्झट पनि देखाएनन् । तर, आफ्नै देशको एयरलाइन्सले मानवीय संवेदनालाई समेत व्यापार बनायो ।’

 यस विषयमा निगमको आधिकारिक धारणा आइसकेको छैन । निगमको आधिकारिक धारणा बुझ्नका लागि निगमका सूचना अधिकारी तथा कर्पोरेट विभागका उपनिर्देशक दीकपाल सुवेदीलाई पटक-पटक टेलिफोन सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेन ।

यो घटनाले नेपाल वायुसेवा निगमको सेवा र नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या भएका यात्रुहरूका लागि ह्विलचेयर अत्यावश्यक सेवा हो, जसलाई नाफाको माध्यम बनाउनु अन्तर्राष्ट्रिय अभ्यास र मानवीय मान्यताविपरीत मानिन्छ । यस प्रकरणले विदेशमा नेपाल र निगमको छविमा समेत नकारात्मक असर पार्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया