Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा सबैभन्दा मन पराइने खानाहरूमध्ये एक, करी राइसको पर्याय बनेको ‘कोकोइचिबान्या’ (कोकोइची) रेस्टुरेन्ट चेन अहिले ग्राहकहरूको खडेरीको सामना गरिरहेको छ । सन् १९७८ मा स्थापित यस चेनका जापानभर १२ सयभन्दा बढी शाखा छन् र यो देशको सबैभन्दा ठूलो करी रेस्टुरेन्ट मानिन्छ । तर, लगातारको मूल्यवृद्धिका कारण यसको लोकप्रियता घट्न थालेको हो ।

कोकोइचीको स्वाद सधैँझैँ लोकप्रिय भए पनि यसका ग्राहकहरूको संख्यामा भने उल्लेख्य गिरावट आएको छ, जसको मुख्य कारण बढ्दो मूल्य नै हो । कोकोइचीले आफ्नो मेनुमा ग्राहकलाई करीको प्रकार, पिरोपना, भातको मात्रा र टपिङ्स (थप सामग्री) छान्ने सुविधा दिन्छ । तर, पछिल्लो समय यी सबैको मूल्य निरन्तर बढिरहेको छ । रेस्टुरेन्टले सन् २०२२ मा दुई पटक र सन् २०२४ को अगस्टमा तेस्रो पटक मूल्य बढाएको थियो । अगस्ट २०२४ को मूल्यवृद्धिमा करी र भातमा औसत १० दशमलव ५ प्रतिशत र टपिङ्समा १३ दशमलव ५ प्रतिशतले वृद्धि गरियो, जुन धेरै ग्राहकका लागि पचाउन नसक्ने खालको भयो ।

फलस्वरूप, सेप्टेम्बर २०२४ देखि फेब्रुअरी २०२५ को बीचमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ग्राहक संख्यामा ५ दशमलव २ प्रतिशतले कमी आयो । यो आर्थिक वर्षको सुरुवातदेखि अवस्था झनै खराब देखिएको छ, मार्चमा ७ दशमलव ५ प्रतिशत र अप्रिलमा ६ प्रतिशतले ग्राहक घटेका छन् ।

किन बढ्यो मूल्य ?
कोकोइचीले मूल्य बढाउनु अस्वाभाविक भने होइन । पछिल्लो एक वर्षमा जापानमा मुद्रास्फीति, विशेषगरी खाद्यान्नमा, तीव्र रूपमा बढेको छ । देशमा चामलको अभावसमेत देखिएको छ, जसकारण गत वर्षको तुलनामा चामलको मूल्य झण्डै दोब्बर भएको छ । जब चामलको भाउ बढ्छ, करी राइसको मूल्य बढ्नु स्वाभाविक नै हो ।जापानी खानपान संस्कृतिमा करी राइसलाई सधैँ पेटभरि खान पाइने तर सस्तो परिकारको रूपमा हेरिन्छ । यो भोकाएका विद्यार्थीहरू, मिहिनेती मजदुरहरू र सस्तोमा पेट भर्न चाहनेहरूको पहिलो रोजाइ हो । तर, जापानमा तलब वृद्धिले मूल्यवृद्धिलाई भेट्टाउन नसकेको अवस्थामा कोकोइचीको बारम्बारको मूल्यवृद्धिले यसलाई आम मानिसको पहुँचबाट टाढा बनाउँदै लगेको छ ।

अब कति पर्छ कोकोइचीमा खान ?
अहिले कोकोइचीमा सामान्य पोर्क करी राइसको मूल्य ६४६ येन र बीफ करी राइसको ७९४ येन पुगेको छ । तर, धेरैजसो ग्राहकले मासु वा तरकारीको टपिङ्स थपेर खाने हुनाले एक जना ग्राहकको औसत खर्च १२०८ येन पुगेको छ ।

जापानमा १,००० येनको नोट नै सबैभन्दा सानो कागजी मुद्रा भएकाले, धेरै उपभोक्ताका लागि यो एक मनोवैज्ञानिक सीमा हो । १,२०८ येनको खर्चले कोकोइचीलाई विलासी रेस्टुरेन्ट त बनाउँदैन, तर धेरैको नजरमा अब यो ‘सस्तो खाना’ पनि रहेन ।

रोचक कुरा त के छ भने, ग्राहक घटे पनि सन् २०२४ मा कम्पनीको सञ्चालन मुनाफा सन् २०२३ को तुलनामा ४ दशमलव ५ प्रतिशतले बढेको थियो । तर, यो तथ्यांक पछिल्लो मूल्यवृद्धि र त्यसपछिको ग्राहक गिरावटभन्दा अघिको हो ।

तपाईको प्रतिक्रिया