काजाब्लांका क्यासेल्लो – नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशन २०२५ जुन १ तारिखका दिन बेल्जियमको लुभेन शहरमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ र त्यसअनुसार तमु राष्ट्रिय मुक्ति मोर्चा युरोप इन्चार्ज समेत रहेका मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । बन्द सत्रबाट विधानको अनुच्छेद ४ (७) १ मा संशोधन प्रस्ताव पारित गर्दै कार्यसमितिको संख्या १९ बाट २१ मा पुर्याइएको हो ।
सोही अनुसार, कार्यसमितिमा तीन उपाध्यक्षहरू, तीन सचिवहरू, एक महासचिव, प्रवक्ता, कोषाध्यक्ष र सदस्यहरू गरी नयाँ संरचना तयार गरिएको छ । अध्यक्ष पदमा मनिष गुरुङ चयन भएका छन् भने भिम सुवेदी, साबित्रा भारती र रुपेश श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । शुसिला खतिवडा महासचिवको रूपमा चयन भएकी छन् । सचिव पदमा दिलिप कुमार हमाल, रमेश दाहाल र तेज अर्याल रहेका छन् ।
प्रवक्ताको रूपमा दिल निशानी मगर जिम्मेवारीमा आएका छन् भने कोषाध्यक्ष पदमा जीत कुमारी कुँवर निर्वाचित भएकी छन् । सदस्यहरूमा सीता दाहाल, लक्ष्मी सुवेदी, नारायण भुर्तेल, चित्र कुमारी खतिवडा, विरेन्द्र लामा, हिमाल बुढा, विरजन बुढामगर र तारा बुढामगर चयन भएका छन् । सल्लाहकारहरूमा सतमान पुन, श्याम बुढा मगर चयन भएका छन् । अधिवेशनको निर्णयअनुसार बाँकी तीन सदस्य कार्यसमितिबाट मनोनयनमार्फत थप गरिने छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास ब्रसेल्स, बेल्जियमकी राजदूत सेवा लम्सालको गरिमामय उपस्थिति रहेको थियो । उनले आफ्नो मन्तव्यमा बेल्जियममा रहेका नेपालीहरूको संगठनात्मक एकता र सामाजिक जागरणमा नेपाली जनप्रगतिशील मञ्चको भूमिका उच्च रहेको बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिइन् । ‘प्रवासी भूमिमा नेपाली चिरा भएर होइन, चिना भएर चम्कनुपर्छ। एकताको बलले मात्र पहिचान मजबुत हुन्छ,’ उनले भनिन् ।
विशेष अतिथिका उपस्थित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य श्री सुरेन्द्र भुसालले अधिवेशनमा शुभकामना व्यक्त गर्दै संगठनको वैचारिक स्पष्टता र सामाजिक योगदानको प्रशंसा गरे । ‘जनचेतनाको प्रवाहलाई निरन्तरता दिने यो मञ्चले युरोपभर प्रगतिशील आन्दोलनको गतिशील धरोहर बन्नेछ,’ उनले भने ।
पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संयोजक उदयराज गौतमले शुभकामना मन्तव्यमा नयाँ नेतृत्वप्रति विश्वास प्रकट गर्दै संगठनात्मक अनुशासन र समर्पणलाई बलियो बनाउने प्रतिबद्धता प्रकट गरे । अर्का अतिथि प्रवास सहसंयोजक सुष्मा भुसाल, मगर मोर्चा प्रवास इन्चार्ज र प्रवास सदस्य बिरमान मगरले भने, ‘नेतृत्व पाउनु मात्रै पर्याप्त हुँदैन, जिम्मेवारी पुरा गर्नु नै वास्तविक नेतृत्व हो। यो नेतृत्वले त्यो चुनौती पूरा गर्नेछ भन्ने विश्वास छ ।’
निर्वाचन समितिका संयोजक कृष्ण तिवारी, सदस्य लोक प्रसाद दाहाल र अर्जुन अधिकारीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेका थिए । अधिवेशनमा डेनमार्कबाट उदयराज गौतम, अस्ट्रियाबाट युरोप महासचिव धर्मराज खतिवडा, स्पेनबाट युरोप उपाध्यक्ष गंगा भुसाल, युरोप सचिव अर्जुन आचार्य, फ्रान्स अध्यक्ष अशोक तिवारी, पोर्चुगलबाट पूर्व अध्यक्ष राज गौतम लगायत उपस्थित थिए ।
अधिवेशनको समापन समारोहमा सांस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए । नवगठित कार्यसमितिले संगठनात्मक सुदृढीकरण, सामाजिक न्यायको प्रवर्द्धन र प्रवासी नेपालीको हकहितका लागि अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।









