
टोकियो – कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।
हेनली पासपोर्ट इन्डेक्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट अथोरिटी आइएटीएले प्रदान गरेको तथ्यांक र सूचनालाई मध्यनजर गर्दै वर्षेनी शक्तिशाली र कमजोर राहदानीको सूची प्रकाशित गर्दछ।
विश्वभरका देशको पासपोर्टको र्याङ्किङ गर्दै आएको संस्था ‘हेनेली पासपोर्ट इन्डेक्स’ले सन् २०२१ मा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने सूची प्रकाशन गरेको छ ।
कुन देशका नागरिकले कति देशमा अन अराइभल भिसा वा भिसा फ्रि इन्ट्री पाउँछन् भन्ने तथ्याङ्कलाई विश्लेषण गरेर सूची प्रकाशन गरेको हेनेलीले जनाएको छ ।
‘हेनेली पासपोर्ट इन्डेक्स’का अनुसार सन् २०२१ मा जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ । जापानी नागरिकले १९१ देशमा सहज आवतजावत अनुमति प्राप्त गर्न सक्छन् ।
दोस्रो स्थानमा रहेको सिंगापुरका पासपोर्टधारीले भने १९० देशमा सहज आवतजावत अनुमति प्राप्त गर्छन् ।
तेस्रो स्थानमा दक्षिण कोरिया रहेको छ । यो देशका नागरिकले १८९ देशमा सहज आवतजावत अनुमति प्राप्त गर्न सक्छन् ।
त्यस्तै फिनल्यान्ड, जर्मनी लगायतका देशहरुको पासपोर्ट पनि शक्तिशाली पासपोर्टको रुपमा देखिएका छन्।
द्रुत रुपमा आर्थिक वृद्धि गरिरहेको छिमेकी मुलुक चीन भने ७० औं स्थानमा रहेको छ । चिनियाँ नागरिकले ७५ देशमा भिसा फ्रि इन्ट्री पाउँछन् ।
त्यस्तै छिमेकी देश भारत ८५ औं स्थानमा रहेको छ । भारतीय नागरिकले ५८ देशमा सहज प्रवेश गर्न सक्छन् ।
सूचकांकका अनुसार नेपालको राहदानी भने कमजोर देशको सूचीमा परेको छ। १०४ औं स्थानमा रहेको नेपालका नागरिकले भने ३८ देशमा मात्रै सहज प्रवेश पाउँछन् ।
अन्तिम स्थानमा भने इराक र अफगानिस्तान रहेका छन् । १०९ औं स्थानमा रहेको इराकका नागरिकले २८ र ११० औं स्थानमा रहेको अफगानिस्तानका नागरिकले २६ देशमा मात्रै सहज प्रवेश पाउँछन् ।
शक्तिशाली पासपोर्ट भएका देश
१. जापानः १९१ देश भ्रमण गर्न सकिने
२. सिंगापुरः १९० देश
३. दक्षिण कोरिया, जर्मनीः १८९
४. इटाली, फिनल्यान्ड, स्पेन, लक्जेमबर्गः १८८ देश
५. डेनमार्क, अस्ट्रियाः १८७ देश
६. स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्डः १८६ देश
७. स्वीजरल्यान्ड, अमेरिका, बेलायत, नर्वे, बेल्जियम, न्युजिल्यान्डः १८५ देश
८. ग्रिस, माल्टा, चेक रिपब्लिक, अस्ट्रेलियाः १८४ देश
९. क्यानडाः १८३ देश
१०. हंगेरीः १८१ देश
कमजोर पासपोर्ट भएका देश
१. उत्तर कोरियाः ३९ देश
२. लिबिया, नेपालः ३८ देश
३. प्लोस्टाइनी क्षेत्रहरुः ३७ देश
४. सोमालिया, यमनः ३३ देश
५. पाकिस्तानः ३२ देश
६. सिरियाः २९ देश
७. इराकः २८ देश
८. अफगानिस्तानः २६ देश
***








