काठमाडौं – प्रतिनिधिसभाको नियमावलीमा देखिएको विवाद समाधानको प्रयासमा बसेको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । नियामावलीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप आज बसेको सर्वदलीय बैठकमा दलहरुले आ–आफ्नो अडान दोहोर्याएपछि सहमति जुट्न नसकेको हो ।
सभामुख कृष्णबहादुर महाराले सहमतिको अन्तिम प्रयास स्वरुप नियमावलीमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको थियो । तर बैठकमा सहमति जुट्न सकेन । तीन वर्ष वा सो भन्दा बढी कैद सजाय हुने फौजदारी अभियोग लागेको सांसद स्वतः निलम्ब हुने कि नहुने भन्ने विषयमा विवाद हुँदा प्रतिनिधिसभाको नियमावली पारित हुन सकेको छैन ।
कांग्रेस, राजपा र फोरम फौजदारी अभियोग लागेको सांसद कुनै पनि सुविधा नपाए पनि निलम्बन गर्न नहुने पक्षमा छन् भने नेकपा तीन वर्ष कैद सजाय हुने फौजदारी अभियोग लागेको सांसद स्वत निलम्बन हुनुपर्ने पक्षमा उभिएको छ । यही विवादका कारण संसदको पहिलो अधिवेशन फागुन २१ गते सुरु भए पनि अहिलेसम्म नियमावली पारित गर्न सकेको छैन ।
आजकोबैठकमा सहमति नजुटेपछि सभामुख महराले अब के गर्ने भन्ने विषयमा फेरी दलका प्रतिनिधिसँग छलफल थाल्नु भएको छ । सभामुख महराले नियमावलीमा देखिएको विवाद सहमतिमार्फत हल गर्न प्रयास सफल नभए बहुमतीय प्रक्रियाबाट पारित गर्ने तयारी गर्नु भएको छ ।








