काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले आरोप–प्रत्यारोप छाडेर बजेट कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । आर्थिक वर्ष २०७५-७६ को वार्षिक आय-व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा आज अर्थमन्त्री खतिवडाले बजेट गतिशील रहेकोले कार्यान्वयन लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले घोषणपत्र, नीति कार्यक्रममा भनिएका कुरा कार्यान्वयन गर्दा केही छुटे भन्दैमा आलोचना गरिहाल्न नसुहाउने बताउनुभयो । जनताको न्यूनतम कुरा पूरा गर्दै समृद्धितिर जाने लामो यात्रामा सरकार रहेको उल्लेख गर्दै उहाँले रोजगारी, उत्पादकत्व बढाउन श्रमलाई प्राथमिकता दिएको बताउनुभयो । गति नभएको अर्थतन्त्रलाई गतिशील बनाउन बजेट, नीति कार्यक्रम ल्याउँदा बढी आलोचना भयो कि भन्ने आफूलाई महसुस भएको भन्दै अर्थमन्त्री खतिवडाले कुशासन र भ्रष्टाचारलाई रोक्न बजेटमा सुशासनलाई जोड दिएको बताउनुभयो ।
बजेट केन्द्रिकृत र संघीयताविरोधी भएको सांसद्हरुको आरोपमा अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहलाई कानुनअनुसार बजेट बाँडफाँट गरेको प्रस्टीकरण दिनुभयो । संघ, प्रदेश र स्थानीय प्रतिस्पर्धी नभई परिपुरक भएको भन्दै सँगसँगै काम गर्नेमा जोड्दिनुभयो ।








