काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि फिर्ताको माग गर्नुभएको हो ।
उहाँले मूल्यवृद्धि फिर्ताका लागि सभामुखको ध्यानाकर्षणसमेत गर्नुभयो । मूल्यवृद्धि गरिब जनताको विपक्षमा रहेको र अन्य सेवाका क्षेत्रमा समेत यसको असर पर्ने भन्दै फिर्ता लिन माग गर्नुभयो ।
नेपाल आयल निगमले आइतबार रातिबाट लागू हुने गरी मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३-३ रुपैयाँ वृद्धि गरेको थियो । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य ११३ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ । ग्यासको मूल्य भने यथावत रहेको छ ।








