काठमाडौं – पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १२ जनाको राम्दीघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेको र क्षेत्रमान शाक्यको छोरा जिल्ला बाहिरबाट आउँदै गरेकोले दुई जनाको बाहेक अन्य १२ को आज राम्दीघाटमा अन्त्येष्टि गरिएको हो ।
अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवम् कर्मचारीसहित अतिथि चढेको बस रम्भा गाउँपालिका –४, हुमिनको धारादी वनमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
दुर्घटनामा सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाका भाई सचिनसँगै डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र दुर्गादेवी श्रेष्ठ र मुना सारुको मृत्यु भएको थियो ।
घाइते ३ जनाको काठमाडौं र ६ जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ ।








