काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा सहभागिताका लागि सक्रियता बढाएका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ आफ्नो नाम नपरेपछि शपथ ग्रहण समेत गएनन् ।
सरकारसँगको सहमतिपत्र कोरेका श्रेष्ठको मन्त्री बन्ने चर्चा धेरै अघिदेखि थियो । फोरम नेपाल र सरकारबीचको हरेक वार्तामा उहाँ सहभागी हुनुहन्थ्यो । तर हिजो भएको मन्त्रिपरिषद् विस्तारमा उहाँ पर्नु भएन । मन्त्री हुन नपाएपछि उहाँले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गर्नुभयो । शपथ ग्रहण कार्यक्रममा फोरम नेपालका सबै सांसद र नेताहरु सहभागी थिए तर सरकारमा सहभागिताका लागि सक्रियता देखाउँदै आउनुभउको श्रेष्ठ अनुपस्थित रहनुभयो ।
पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादवलगाएतका नेताहरुले मन्त्रीको नाम टुँगो लगाएका थिए । स्रोतका अनुसार श्रेष्ठको विरोध रेणु यादवलगायतका नेताहरुले गरेका थिए । पहाड तथा काठमाडौंमा अपेक्षित मत नआएको भन्दै यादवले श्रेष्ठको विरोध गरेका थिए । श्रेष्ठलाई पुरानै संघीय समाजवादी पार्टीका नेताहरुले समेत विरोध गरेपछि अध्यक्ष यादवले उहाँको नाम हटाउनु भएको बुझिएको छ ।








