Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – भारतको ओडिशा राज्यको बालेश्वर जिल्लामा एक व्यक्तिले कथित रूपमा आफ्नी श्रीमतीलाई जुवामा हारेको घटना सार्वजनिक भएको छ । हारपछि उनले श्रीमतीलाई जित्ने मान्छेको जिम्मा लगाएको र जित्ने व्यक्तिले ती महिलाको बलात्कार गरेको आरोप लगाइएको छ ।

महिलाले प्रहरीमा उजुरी गरेपछि उनका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ, ‘पीडित महिलालाई हामीले जाँचका लागि बालेश्वर पठाएका छौँ र फरार दुवै आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौँ।’ आरोपीहरूविरूद्ध बलात्कारसहित अन्य अभियोग पनि दायर गरिएको प्रहरीले जनाएको छ ।

बीबीसीसँग कुरा गर्दै पीडित महिलाले भनिन्, ‘गत महिनाको २३ तारिख मेरा श्रीमान् राति ११ बजे घर आउनुभयो र मलाई बाहिर जाऊँ भन्नुभयो। मैले जानुपर्ने ठाउँबारे सोध्दा उहाँले केही भन्नुभएन ।’ ‘मलाई जबरजस्ती गाउँ बाहिर लग्नुभयो जहाँ उहाँका साथी पहिल्यैदेखि हुनुहुन्थ्यो । म उहाँलाई दाइ भनेर बोलाउने गर्थेँ। उहाँले मेरो हात समाएर आफूतिर तान्न थाल्नुभयो । मैले विरोध जनाए पनि मेरै श्रीमान्‌ले मलाई उनको जिम्मा लगाइदिनुभयो ।’

भोलिपल्ट पीडित महिलाकी छोरीले आफ्ना हजुरबुवा (आमापट्टिको)लाई फोन गरेर घटनाबारे जानकारी गराइन् । त्यसपछि पीडित महिलाका बुवा र भाइ घर पुगे । पीडित महिलाका बुवाले भने, ‘हामीले सम्धिज्यू र ज्वाइँ साहबलाई घटनाबारे सोध्दा आफूहरूलाई केही थाहा नभएको भन्नुभयो । त्यसपछि मैले गाउँका मुखियासँग कुरा गरेँ।’ उनले अगाडि थपे, ‘मुखियाले गाउँका अरू भद्रभलादमीसँग कुरा गर्नुभयो र हामीसँग दुई दिनको समय माग्नुभयो । हामी छोरी र उसका दुई सन्तानलाई लिएर फर्कियौँ ।’ ‘मे २७ मा हामीले स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाव दिए । बुधवार हामीले प्रहरी उपरीक्षक साहबलाई भेटेपछि बल्ल उजुरी दर्ता भयो।’

चौकीका इञ्चार्जले भने उजुरी लिन नमानेको भन्ने पीडित महिलाका बुवाको आरोपको खण्डन गरे । उनले भने, ‘म आफैँ बिदामा थिएँ । बिदाबाट फर्केपछि दुई परिवारले मेलमिलापका लागि निवेदन दिएको बुझियो। तर प्रहरी उपरीक्षक सरले आदेश दिएपछि हामीले उजुरी लियौँ र अनुसन्धान थालिसकेका छौँ ।’ पीडित महिलाका बुवाले चाहिँ उजुरीपछि आफूहरूलाई प्रहरीले तनाव दिइरहेको आरोप लगाएका छन् । उनले भने, ‘प्रहरीले हाम्री छोरीसँग उटपटाङ प्रश्न सोध्ने गरेका छन्। मानौँ ज्वाइँ नभइ हाम्री छोरी नै दोषी भए जस्तो ।’ –बीबीसीबाट

तपाईको प्रतिक्रिया