काठमाडौं – समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा कार्यक्रममा समर्थन गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दललाई आव्हान गर्नुभएको छ । उहाँले निर्वाचनका समयमा जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको स्पष्टसमेत पार्नुभयो ।
चुनावको बेलामा गरेको बाचा र प्रतिवद्धताका आधारमा नीति तथा कार्यक्रम आएकाले यो जनअनुमोदित र जनताको जनादेशमा आधारित रहेको उहाँले दावी गर्नुभयो । ठूलो दल र सत्तापक्षको दम्भ आफूहरुमा नरहेको भन्दै उहाँले सरकारसँग मिलेर काम गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । उहाँले देश र जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुन सक्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेपालको संविधानको कार्यान्वयनलाई सबैको साझा दायित्व हो भनिएकाले संघीयतालाई नीति तथा कार्यक्रमले आत्मसात गरेन भन्न नमिल्ने तर्क गर्नुभयो । राष्ट्रपतिलाई महारानी बनाउन खोजेको भनेर पनि बैठकमा टिप्पणी भएको भन्दै उहाँले महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुखसँग आग्रह गर्नुभयो ।








