कैलाली – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करीमा संलग्न भरियादेखि मालिकसम्मलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताउनुभएको छ । आज प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा पत्रकार सम्मेलन गरेर उहाँले सो कुरा बताउनु भएको हो ।
सञ्चारकर्मीले लागूऔषधदेखि सुन तस्करीसम्मका घटनाहरुमा भरिया पक्राउ परे पनि मालिक किन पक्राउ पर्दैनन्? भनेर थापालाई प्रश्न गरेका थिए । प्रतिउत्तरमा गृहमन्त्री थापाले अब भरियासहित मालिकलाई पनि पक्राउ गरिने बताउनुभयो । ‘हिजो मालिकको रक्षाका निम्ति भरियालाई मात्र समात्ने गरिन्थ्यो । अब त्यो स्थिति छैन । अब मालिकलाई नै कानुनको कठघरामा ल्याउछौँ । तपाईँले देखिरहनु भएको छ । हामीले त्यो प्रक्रियाको थालनी गरिसकेका छौँ,’ गृहमन्त्री थापाले भन्नुभयो ।
यस विषयलाई थप प्रष्ट्याउन गृहमन्त्री थापाले चिर्चित घटना ३३ किलो सुन तस्करीको प्रसंगलाई जाड्नुभयो । उहाँले भन्नुभयो, ‘सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई हामीले पक्राउ गरेका छौँ । उनको माध्यमबाट त्योभन्दा माथिका ठूला माछाहरु पनि पक्राउ पर्न सक्छन् । हामी त्यसको प्रक्रियामा छौँ । अनुसन्धन पूरा भएको छैन ।’








