सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले यातायात मात्र नभई सबै क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्य गर्ने अडान दोहोर्याउनु भएको छ । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीको उद्घाटन गर्न सुर्खेत पुगेका गृहमन्त्री थापाले आज पत्रकारहरुसंग कुरा गर्दै सिन्डिकेट तोड्ने अभियान नरोकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै क्षेत्रका तस्करी, सिन्डिकेट, विकृति, विसंगति र भ्रष्टाचार अन्त्यलाई अभियानकै रुपमा अघि बढाइनेछ, तबमात्र मुलुकमा सुशासन कायम हुन्छ र विकासले गति लिन्छ ।’ गृहमन्त्री थापाले मुलुकको विकासका लागि सुशासन, स्थायित्व र दिगो शान्ति जरुरी रहेको बताउनुभयो । सबै क्षेत्रमा माफियातन्त्र हावी रहेको भन्दै गृहमन्त्री थापाले त्यस्ता माफियाविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनुभयो । विकास निर्माणमा देखिएको ढिलासुस्ती, ठगी नियन्त्रण गर्ने कदम चालिरहेको उहाँले बताउनुभयो ।
सुन तस्करीका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ पक्राउ पर्नुलाई गृहमन्त्रीले ठूलो उपलब्धी भएको भन्दै उहाँले यसले ‘सुन तस्करीलाई निमिट्यान्न पार्न’ मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले तीन तहको निर्वाचन परिणामले विकास र सम्वृद्धिको पक्षमा जनादेश पाउनु र हालै ठूला कम्युनिष्ट पार्टीबीच एकता हुनुलाई दुई असाधारण परिघटनाका रुपमा टिप्पणी गर्नुभयो । एकताले नेपालमा राजनीतिक स्थिरता सुनिश्चित गर्नुका साथै समाजवाद स्थापनाका निम्ति सबल र सही नेतृत्व स्थापित गरेको उहाँको भनाई थियो ।
सुरक्षा गोष्ठीमा स्थानीय, प्रदेश सरकारसंगको सुरक्षा समन्वय, सिन्डिकेट अन्त्य पछिको अवस्थाबारे छलफल केन्द्रित थियो । गृहमन्त्री थापाले गृह प्रशासन सुधार कार्ययोजना २०७४, मन्त्रालयद्वारा जारी ३७ बुँदे निर्देशन, मौसमी विपद् पछिको उद्वार, सुशासन प्रर्वद्धन र, प्राप्त निर्देशनलाई पारदर्शी ढंगले सम्पादन गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभयो ।








