
नयाँदिल्ली – भारतीय गृहमन्त्री राजनाथ सिंहले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गर्नुभएको छ ।
भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज भएको भेटवार्ताका क्रममा मन्त्री सिंहले त्यस्तो प्रतिकृया दिनु भएको हो । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले सो घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस अवसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमास्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गर्नुभएको गृह मन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिक्रिया दिनुभएको थियो । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान आपसी सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
भारतीय समकक्षी सिंहसँगको भेटमा गृहमन्त्री निधिले विगतको संविधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्वाचन आयोगलाई आवश्यकपर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गर्नुभएको थियो । भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने विषयलाई सकारात्मक रुपमा लिनुभएको थियो । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी हुनुहुन्थ्यो ।








