
स्पेन – पत्रकारलाई निषेध गरेर नेपाली जनसम्पर्क समितिहरुले केही देशमा गरेको अधिवेशन प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
मुलुककै सबै भन्दा पुरानो लोकतान्त्रिक तथा प्रजातान्त्रिक पार्टी भएको दाबी गर्ने नेपाली काँग्रेसले विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिहरुको अधिवेशनमा पत्रकारलाई प्रवेश निषेध गरेको थियो । मार्च १२ तारिख आईतबार नेपाली जनसम्पर्क समिति स्पेनको अधिबेशन हुँदै गर्दा मतदान पछि भएको मतगणनाको स्थान समेत जानकारी नगराएकोमा महासंघले आपत्ति जनाएको हो । अधिवेशन सम्बन्धमा पत्रकारहरुले चासो राखेर समितिका अध्यक्ष शालिकराम डुम्रेलाई पटकपटक फोन सम्पर्क गर्दा कुनै रेस्पोन्स नगरेको तथा पत्रकारलाई निषेध गरेको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईद्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा लेखिएको छ – ‘मतगणना हुँदै गर्दा, चुनाबी प्रकृया पर्यबेक्षणका लागि पत्रकारलाई ढोका खोलेर प्रजातान्त्रिक परिपाटी देखाउँनुको सट्टा, मत परिणामलाई अपडेड गराउँने बाटो समेत बन्द गराई आफ्नै मतदाता र उमेद्वारहरुले सूचना पाउने अधिकारबाट बन्चित गराउनु ठुलो दुर्भाग्य हो, यस घटना प्रति महासंघले खेद प्रकट गर्दछ।’
यस्तै नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिति संयोजक इन्द्र क्षेत्री र सदस्य सचिब झलक केसीले प्रवेशमा रोक लगाउँदै अपमानित गरेको घटना प्रति पनि महासंघले ध्यानआकर्षण गराएको छ ।
महासंघले शाखाले दुवै घटनामा पत्रकारहरु माथि भएको अपमानको महशुस गर्दै सार्बजनिक रुपमा माफी माग्न सम्बन्धित सँस्थाहरुलाई अनुरोध समेत गरिएको छ । साथै, यी घटनाहरुलाई बेवास्ता गरिएमा महासंघ सम्बन्धित सँस्थाका समाचार, सूचनाहरु बहिष्कार गर्नेसम्मको आफ्नो कदम चाल्न बाध्य हुने जनाएको छ।








