जापानमा हाल नेपालीहरुको संख्या ६० हजार नाघेको छ । यसरी संख्यामा आएको बढोत्तरीसंगै जापानमा नेपालीहरुको बारेमा अलि बढि चर्चा हुन थालेको छ । यतिबेला नेपालीहरुका बारेमा यहाँका मिडिया, प्रहरी
प्रशासन, अध्यागमन, स्थानीय निकाय समेतको गम्भीर ध्यानाकर्षण भईरहेको हामी सहजै अनुमान लगाउन सकिन्छ । जापानमा बस्ने नेपालीका बारेमा जापानका जिम्मेवार निकायहरुको एकैचोटी यतिधेरै चासो बढेको यो संभवत पहिलोपटक हो । गत जनवरी एक महिनाको अवधिमा मात्र छापा, अनलाईन, टेलिभिजन, रेडियो गरी आधा दर्जन भन्दा बढि यहाँका स्थापित मिडियाले नेपालीहरुका बारेमा सामग्री प्रकाशन गरेका छन् । यसरी चर्चामै आउने गरी नेपालीहरुले जापानमा के बहादुरी देखाए वा बदमाशी गरे त ? भन्नेतिर हाम्रो चासो र चिन्ता हुनु स्वभाविकै हो ।
पहिलो कुरो त शरणार्थीमा आबेदन गर्ने नेपालीहरुको संख्या अपत्यारिलो ढंगले बढ्नुले उनीहरुलाई अचम्मित तुल्याएको छ, कुनै बिशेष र संवेदनशील परिस्थिति नरहेको देश नेपालका नागरिकहरु यसरी लामबन्दी हुनुले उनीहरु चुरो कुरो थाहा पाउन चाहान्छन् । दोस्रो कुरो आत्महत्याको बढ्दो शृङ्खला, बेपत्ता अवस्थामा रहेकी सबिना महर्जन प्रकरणका सम्बन्धमा पछिल्ला दिनमा मिडिया तथा सामाजिक सञ्जालमा छरपष्ट भएका क्रियाप्रतिक्रिया र यसले उत्पन्न गरेको तरंगका कारण जापानीहरुमा पर्न गएको प्रभाव, पछिल्ला समयमा धरपकड र हिरासतमा पर्नेहरुमा पनि नेपालीहरु नै बढि हुनु जस्ता कारण नेपालीहरु चर्चाको बिषय बन्न पुगेको हुनुपर्छ भन्ने बिश्लेषण गर्न सकिन्छ ।
पछिल्ला बिकसित घटनाक्रमका कारण जापानमा समेत असाध्यै मिहिनेती, इमान्दार र बहादुर छबि बनाएका नेपालीहरुप्रति जापानीहरुको दृष्टिकोणमा अब भने बद्लाव आउन सक्ने संभावनालाई नकार्न सकिदैन । श्रमप्रति उच्च सम्मान गर्ने, इमान्दार र समयको फन्कोसंगै नाच्न जानेका जापानीहरु अरुलाई पनि पिराउँदैनन्, अरुले पिराएको पनि रुचाउँदैनन् । यस्तो समाजबाट हामी नेपालीले सिक्नुपर्ने कुराहरु अनगिन्ती छन् । तर नानीदेखि लागेको बानी भनेझैं उनीहरुकै देशमा बसेर आफ्नो कमीकमजोरी सुधार्दै यहाँका राम्रा र असल पक्षहरु सिक्नुपर्नेमा उनीहरुकै ध्यानाकर्षण हुनेगरी नेपालीहरु चर्चाको बिषय बन्नुलाई सुखद पक्ष मान्न सकिदैंन ।
नेपालीहरुले जापानका राम्रा सँस्कारलाई ग्रहण गर्न सक्नुपर्दछ । हेर्दा सामान्य लागे पनि ती सबै अत्यन्त महत्वपूर्ण छन्, बोलीचाली, टेलिफोनमा होस् या लवार्इ खवाईमा, भेटघाटमा होस् या अभिबादन तथा शुभकामना आदानप्रदान वा क्षमायाचनामा, परिचय आदानप्रदानमा होस् या उपहार आदानप्रदानमा, समय र मौसमको हेक्का राख्ने कुरामा होस् या कार्यसम्पादनप्रतिको जबाफदेहितामा, अति सुक्ष्म कुराहरुमा पनि उच्च महत्वकासाथ पालन गर्ने जापानी सँस्कार असाध्यै शिष्ट, शालिन, लोभलाग्दा र अनुकरणीय लाग्दछन् । जुन कुरा हामी नेपालीहरुका लागि अझ उपयोगी हुन सक्छन् । यही समाजमा बसेर यहाँको राम्रा कुरा सिक्ने अवसरलाई गुमाउनु भनेको पछि पश्चाताप गर्ने बिषय साँचेर राख्नु हो ।
जापानको नेपाली समाज बिशाल र बृहत्तर मात्रै बन्दै गईरहेको छैन, छरपष्ट पनि बन्दै गएको छ । यो भन्दा बढि छरपष्ट भयो भने पछि सम्हाल्न धेरै गाह्रो हुनसक्छ । यो सिंगो समाजलाई सही दिशा निर्देश गर्ने, अभिभावकीय एवं नेतृत्वदायी भूमिका निर्बाह गर्ने स्वीकार्यताको दायरा फराकिलो भएको एउटा कमन फोरमको आवश्यकताको महशुस हुन थालेको छ । जापानका नेपालीहरुको साझा समस्याको साझा समाधान गर्न सबैले अपनत्व महशुस हुने साझा फोरम हुने हो भने धेरै सवालहरुमा साझा आवाज उठाउन सहज हुने देखिन्छ । समस्यालाई साझेदारीमा निवारण गर्ने सँस्कारको बिकास गर्ने हो भने यसको भार पनि सबैलाई बराबरी हुन्छ, जापानबाट सिक्नुपर्ने यो पनि अर्को महत्वपूर्ण कुरा हो ।***








