लण्डन – गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासंघ र नेपाली राजदूतावासको संयुक्त आयोजनामा राजदूतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो ।
स्व. गुरुङको फोटोमा माल्यार्पण गरि शुरु भएको समारोहमा संघसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खादा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहांकै सम्मान र सम्झनामा स्व. गुरुङद्धारा संगीतबद्ध राष्ट्रगान र वहाकै स्वर र संगीत रहेको देशभक्ति गानहरु बजाइएको थियो । स्व. गुरुङको जीबनी बारे टेकबहादुर थापा राजेशले बोल्नु भएको थियो । त्यस्तैगरी एक दर्जन कविहरुले गुरुङमा समर्पण गरि लेखिएका कविता तथा मुक्तकहरु वाचन गर्नुभयो । गायक थिर थापामगरले स्व. गुरुङद्धारा संगीतबद्ध रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो र ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो गीत गिटार संगै गाउनुभएको थियो ।
प्रोफेसर तथा कवि सुमाया राई, डा. चन्द्रबहादुर गुरुङ, विजय हितान, भोजबहादुर बराल, राजेन्द्र क्षेत्री, कर्म पहाडी शेर्पा, क्षेत्रकला राई, सईन्द्र थापा, दिप गिरी, निश्चल दाहाल, शैन्द्र थापा, शंकर दाहाल लगायतले सिर्जना वाचन साथै श्रद्धाञ्जली मन्तब्य राख्नुभयो । सभामा विभिन्न १० संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
सन् २६ फेब्रुवरी १९३८, दार्जिलिङमा जन्मनुभएका गुरुङको गत ७ जुन २०१६ का दिन काठमाडौमा निधन भएको हो । वहांलाई राष्ट्रिय सम्मानका साथ अत्येष्ठि गरिएको थियो । हाल प्रचलनमा रहेका राष्ट्रिय गानका संगीतकार साथै नौ लाख तारा उदायो गाना गाए वापत जेल समेत परेका कारण वहांलाई राष्ट्रिय गायक भनी सम्मान ब्यक्त गर्ने गरिन्छ । वहांलाई महासंगीतकारको सम्मान समेत प्रदान गरिएको छ । स्व. गुरुङ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति समेत बन्नु भएको थियो । तत्कालिन राजाले सहयोग गर्न चाहदा पनि केही सहयोग लिन नमान्ने गुरुङले आजीवन काठमाडौंको डेरामै जीवन बिताउनुभयो त्यसैले वहांलाई स्वाभिमानका स्वाभिमान भनी सम्मान गर्ने गरिन्छ । स्व. गुरुङको पूख्यौली थलो गोर्खाको रिसिङ हो भने वहां वि.स. २०२६ मा दार्जिलिङ्गबाट काठमाडौं आउनुभएको हो । वहांका गीति सङ्ग्रह र संस्मरण गरि २ पुस्तक कृति र हजारौ गीतसंगीत रहेका छन् ।
साहित्य महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र अतिथि एनआरएन युरोप संयोजक कुल आचार्य लगायत रहनुभएको थियो । कार्यक्रमलाई शशि थापासुब्बा र जानुका राईले रोचकपूर्ण ढङ्गले संचालन गर्नुभएको थियो । साहित्य महासंघको १७ मुलुकमा २४ शाखाहरु रहेका छन र यहि १३ जुलाईमा नयाँ नेतृत्व चयन हुदैछ ।***













