काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाउनुभएको छ ।
काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताउनुभएको हो । वर्तमान सरकार कामभन्दा भाषणमा रमाएको आरोप लगाउँदै सरकारलाई जनताप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।
उहाँले पार्टी सङ्गठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको र यो कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।








