लिस्बोन – एनआरएनए पोर्चुगलले आप्रवासीहरुको हक हितका लागि आँउदो जुलाई ३ मा सडक मार्चपास सहित विभिन्न कार्यक्रम गर्ने भएको छ । आप्रवासीहरुका हक, अधिकारका लागि कार्यरत गैह्र सरकारी संघ संस्थाहरू सोलिदरिदादे इमिग्रान्ते, एनआरएन, एसोएस राकिज्मो, ओल्यो भिबो, जिटिओ आदि संस्थाहरू मिलेर पिआइसि (प्लाटफोर्मा इमिग्रासाओ इ सिदादानिया) आदि संस्थाका प्रमुख रहने गरी एक संयुक्त आप्रवासी मञ्चको गठन गरी विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
मञ्चका अनुसार आगामी ८ जुनका दिन पोचिगिज संसदका सदस्यहरू पीसीपीका संसदीय दलका नेताहरुसंग ज्ञापन पत्र बुझाउने र जुन १९ तारिक (पी ए एन ) विपक्षी दलका संसदीय नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । त्यस्तै जुन २० तारिक दिनको ३ बजे गृहमन्त्री तथा सम्बन्धित अधिकारीहरुसंग भेट तथा ज्ञापन पत्र बुझाउने, जुलाई ३ मा दिनको २ बजे राजधानीको व्यस्त मार्तिमुनिज (होटेल मुण्डियाल नजिक) सडक प्रदर्शन तथा मार्चपास गर्ने कार्यक्रम रहेको कुरा एनआरएनए पोर्चुगलका अध्यक्ष भीम केसी कमलले जानकारी दिनुभयो । पोर्चुगलमा आप्रवासीहरुको हक, अधिकार सम्बन्धी कार्यरत संघ संस्थाहरू सँग समन्वय गर्दै एनआरएनए पोर्चुगलले जुलाई ३ तारिक तय गरिएको बृहत् मार्चपास आन्दोलनका लागि प्रत्यक्ष सहभागी जनाउने कुरा एनआरएनए पोर्चुगलका अध्यक्ष केसीले बताउनुभयो । 
पोर्चुगलमा बसोबास गर्ने नेपाली आप्रवासीहरुलाई गैह्र – आवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट करिब १ हजार मानिसहरू सडकमा उतार्ने प्रतिबद्धता केसीको छ । (पीआइसी) पोर्चुगलमा कार्यरत आप्रवासी संगठनहरुको मञ्चका तर्फबाट डेलिगेशन तथा ज्ञापन पत्र बुझाउनका लागी भीम केसी कमल, (एनआरएनए ,पोर्चुगल),आनाबेला रुद्रिगोज (जीटीओ), जोआओ सिल्भा (ओल्यो भिबो),जोज फाल्काओ (एसओएस), टिमोटेओ मासेड़ो (सोलिदरिदादे इमिग्रान्ते) र मान्दिना काजिकास्ताउ गरी ६ जनाको टोली चयन गरिएको छ । यो चरणबद्ध आन्दोलनको सुनुवाइ भएमा पोर्चुगलमा रहेका हजारौँ नेपाली तथा अन्य आप्रवासीहरुलाई राहत मिल्ने छ । आगामी जुलाई ३ को सडक मार्च पासले आप्रवासीहरुको आवाज र एकता प्रदर्शन गरी पोर्चुगाली सरकारको ध्यानाकर्षण गराउनु आवश्यक रहेको बताँउदै अध्यक्ष केसीले पोर्चुगलमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिन मार्तिमुनिज सडक मार्च पासमा सहभागी भई आप्रवासी एकता प्रदर्शन गर्न अनुरोध पनि गर्नुभयो ।
आप्रवासीहरुको हक, अधिकार सम्बन्धी एनआरएनए पोर्चुगलले पहिलो पटक पोर्चुगलका उच्च सरकारी अधिकारीहरुसंग प्रत्यक्ष भेटवार्ता तथा अन्तरक्रिया गर्ने भएको हो । पोर्चुगल सरकारले गत मार्च २१, २०१६ मा गरेको आप्रवासी सम्बन्धी नयाँ नियम कार्यान्वयनका लागी ताकेता गरेको छ । सर्भिसेस अफ इस्टेञ्जेइरोस फोरेण्टाइरोस (सेफ) कि नव नियुक्त डाइरेक्टर लुइजा माइया गोन्साल्भेजले उक्त नियम माथि टेकेर गरेको सर्कुलरका कारण गत मार्च देखि पोर्चुगलमा रहेका हजारौँ आप्रवासीहरु पोर्चुगलको आधिकारिक बसोबास गरी पाउँ भनी आवेदन दिनेहरु प्रत्यक्ष मारमा परेका छन् । उक्त नियमले विशेष गरी साउथ एशियन नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, चीन आदि देशका आप्रवासीहरुलाई प्रत्यक्ष असर पारेको छ ।
कार्ड आई नपुगेका तर मार्च भन्दा अगाडि आधिकारिता प्राप्त गरेका व्यक्तिहरूको सम्पूर्ण कानुनी प्रक्रिया समेत पुरा भईसकेको छ । फिङगर प्रिन्ट र आवश्यक शुल्क लिएकाहरुको समेत पुनः छानबिन गर्नु पर्ने भन्दै अफिसमा बोलाएर शुल्क फिर्ता गरी २० दिन भित्र देश छोड्ने पत्र समेत दिएको घटनाले पोर्चुगलमा आप्रवासी नीतिमा कडाइ भएको महसुस गर्दै आएका छन् । लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्य दुतको नियुक्ति भएको करिब २ वर्ष पुगी सक्दा पनि पोर्चुगलमा रहेका नेपाली आप्रवासीहरुका सम्बन्धमा सरकारी पक्षबाट कुनै पनि उल्लेख्य पहल नगरेको गुनासो बढ्न थालेको छ ।








