काठमाडौँ – फ्रान्सको प्यारिसस्थित सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको सतह ३० वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शहर जलमग्न हुन्का साथै मेट्रो रेल सेवासहित कयौँ संग्रहालय, पार्क र चिहानघरहरु बन्द गरिएका छन् ।
लगातारको वर्षाका कारण आएको बाढीले युरोपभरमा कम्तीमा १७ जनाको मृत्यु भइसकेको छ । बाढीबाट जर्मनी, फ्रान्स तथा युक्रेनसहितका देश बढी प्रभावित भएका छन् । बाढीका कारण जर्मनीमा मात्रै १० जनाको मृत्यु भएको छ । रोमानिया, बेल्जियम, अस्ट्रिया, नेदरल्याण्डस् र पोल्याण्ड पनि बाढीका कारण प्रभावित भएको छ । बाढीले गर्दा दशौं हजार मानिस विस्थापित भएका छन् ।
सेन नदीमा पानीको सतह सामान्यभन्दा ६ मिटर बढी रहेको र यसले थप समस्या ल्याउन सक्ने भन्दै सतर्क रहन सरकारी अधिकारीले सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन् । – एजेन्सी








