काठमाडौं – थाइल्याण्डको बैंककमा नेपालमा गएको विनासकारी भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा एक कार्यक्रमको आयोजना गरियो ।
नेपाल एम्बेसी र गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको आयोजनामा पाँच दिन अघि सुरु भएको ‘नेपाल फेस्टिबल’को समापनको अबसरमा सेन्ट्रल वर्डमा ‘नेपाल अर्थक्वीक मेमोरिअल’को आयोजना गरिएको हो ।
कार्यक्रमको अघिल्लो सत्रमा बोल्दै थाइल्याण्डक विदेश मन्त्रीले यदि कुनै इच्छा भगवानसंग गर्न मिल्ने भए आफूले अप्रिल २५ कहिलै नेपालीलार्इ फेरी नाओस् भन्ने इच्छा रहेको बताउनु भयो । उक्त कार्यक्रमलाई एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्र राज ढकाल र नेपाली राजदुत खगनाथ अधिकारीले सम्बोधन गर्नु भएको थियो ।

अध्यक्ष ढकालले भत्किएका घरहरु र मनहरु बिस्तारै रिकवर हुदै गए पनि अप्रिल २५ एक कालो दिनको रुपमा नेपालीका मनबाट कहिलै नहट्ने बताउनु भयो । त्यसरी नै नेपालीले पाएको पीडा र थाईहरुले देखाएको माया र सहयोगलाई नेपालीले सधै सम्झिरहने ढकालले बताउनु भयो ।
त्यस्तैगरि राजदुत अधिकारीले थाईहरुले गरेको सहयोगको उच्च मुल्यांकन गर्नुभयो । अधिकारीले नेपाल सरकारले पुननिर्माणको कार्यलार्इ नेपाल सरकारले प्राथमिकताका साथ् अघि बढाएको जानकारी गराउनु भयो । सयौं नेपाली र थाई नागरिकले मैनबत्ती बालेर भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरण गरेका थिए ।

कार्यक्रममा राजपरिवारका सदस्यहरु, सरकारी, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु, सेन्ट्रल वोर्ल्डका उच्च प्रतिनिधिहरु र सर्बसाधारण थाई एबम् नेपालीले भाग लिएका थिए । कार्यक्रममा थाई कलाकारहरु र नेपालको सुरसुधाले आफ्नो सांगीतिक प्रस्तुति राखेको थियो ।








