काठमाडौँ – थाइल्यान्डको राजधानी बैंककमा पहिलो नेपाल फेस्टिभल सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेल, थाइल्यान्डका संस्कृति मन्त्री वीरा रोज्पोन्चनरा र पर्यटन तथा खेलकुद उपमन्त्री चाबानी तंग्रोचले संयुक्त रुपमा महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
बैंकक सहरको केन्द्रमा अवस्थित ‘सेन्ट्रल वल्र्ड’मा महोत्सव सुरु भएको छ । अप्रिल २५ सम्म चल्ने महोत्सवमा नेपाली कला र संस्कृतिसँग सम्बन्धित १८ वटा स्टलहरु राखिएका छन् । स्टल चलाएबापत उठेको पैसा एनआरएनले नेपालका भूकम्पपीडितका घोषणा गरेको एक हजार घर योजनामा सहयोग गरिने एनआएरएन थाइल्यान्डका अध्यक्ष खगेन्द्र ढकालले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ थाइल्यान्ड र बैंककस्थित नेपाली दूतावासले महोत्सवको आयोजना गरेका हुन् ।
आयोजकका अनुसार अप्रिल २५ मा भूकम्पमा परी मृत्यु भएका ८ हजारभन्दा बढी नेपालीको मैनबत्ती बालेर स्मृति गरिने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन गर्दै संस्कृतिमन्त्री पोखरलले भूकम्पका बेला नेपाल र नेपालीलाई सहयोग गरेको भन्दै थाइ सरकार र जनतालाई धन्यवाद दिनुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै थाइ संस्कृतिमन्त्री वीराले बुद्ध धर्मले नेपाल र थाइल्यान्डलाई जोडेको उल्लेख गर्दै सुमधुर सम्बन्धलाई बचाइराख्नुपर्ने बताउनुभयो ।
पर्यटन तथा खेलकुद उपमन्त्री चाबानी तंग्रोच ले नेपाल महोत्सवले थाई र नेपाली बीचको सम्बन्ध र सहकार्यमा थप बल पुग्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई गैरआवासीय नेपाली संघ केन्द्रीय समितिका उपाध्यक्ष भवन भट्ट, गैर आवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष खगेन्द्र ढकाल, नेपाली राजदुत खगनाथ अधिकारी र एनआएरएन थाइल्यान्डका संरक्षक रमेश रमेश हमालले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली लोकनृत्यहरु प्रस्तुत गरिएको थियो । त्यसतै थाइ नागरिक क्रित कुन्क्लिनले सगरमाथा आधारक्षेत्रमा गएको हिमपहिरोसम्बन्धि आफ्नो अनुभवमा आधारित भएर लेखेको पुस्तक एभरेस्ट बेसक्याम्पको पनि विमोचन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा २० भन्दा माथि कुटनीतिक नियोगका प्रतिनिधिहरु, दर्जनौ थाई मुभी स्टार्स, थैलान्ड़का प्रथम सगरमाथा आरोही , भिभिन्न युनिभसिटीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।








