काठमाडौँ – नयाँ बर्षको शुभकामना आदान प्रदानसंगै क्यानाडाको क्यालगरी सहरमा क्यालगरी नेपाली कम्युनिटी एसोसिएसन (सीएनसीए) को बार्षिक साधारणसभा सम्पन्न भएको छ । अप्रिल ९, २०१६ मा स्थानिय सिल्भर स्प्रिंग सामुदायिक भवनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा संस्थाले बर्षभरी गरेको कामको समिक्षा गर्दै आगामी बर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरिएको छ । आगामी बर्षको लागि दिव्य प्रधानको अध्यक्षतामा सर्वसम्मतिबाट चयन गरेको कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, महासचिवमा हरिबोल शर्मा, कोषाध्यक्षमा पूर्णिमा लिम्बु, सामाजिक कार्यक्रम संयोजकमा दिनेश घिमिरे चयन हुनुभएको छ । यसै गरी बोर्ड अफडाइरेक्टरमा प्रज्वलमर्दन बस्नेत, विकास ढुंगेल, नवीन भुषाल, सुरज गुरुङ, श्रीराम न्यौपाने र लिशा सिंहलाई चयन गरिएको छ ।

निर्वाचन अधिकृत डा. नगेन्द्र शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचनको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष मोहन वैद्य, सल्लाहकार प्रेम गुरुङ र एनआरएन क्यानाडाका सदस्य नारायण पोख्रेलले बधाई तथा शुभकामना दिनु भएको थियो ।
सधारण सभामा नेपालमा भूकम्पले क्षति पुरयाएको जिल्लामा धादिङका दुइवटा, गोर्खाको एक, काठमाडौँको एक र भक्तपुरको एक गरी पाचँ विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गरिएको थियो । यसका अतिरिक्त जाडो याममा रसुवा, सिन्धुपाल्चोक र धादिङका भूकम्पपीडित विपन्न बस्तिहरुमा न्यानो कपडा, औषधि र अन्य मानवीय सहयोग समेत प्रदान गरिएको साधारण सभामा जानकारी गराइएको थियो । ***








