टोकियो – बिगत १३ बर्ष देखि कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी सेवा समाज कतारको नामले क्रियाशील संस्था हालैबाट परिमार्जित भएर म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) मा रुपान्तरित भएको छ ।
बिश्वभरि छरिएर रहेका म्याग्देलीहरुको संघसंस्थामा एकरुपता ल्याई एउटै नामले परिचित हुने र एकै छानामुनि गोलबन्द हुने अभिप्रायले कतारमा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी सेवा समाज पनि मोनामा रुपान्तरित भएको मोना आइइसीका मध्यपूर्व उपाध्यक्ष बालकृष्ण खत्रीले समुद्रपारिलाई बताउनुभयो ।
मोनाको गत अक्टोवर महिनाको तेश्रो साता बेनीबजारमा सम्पन्न प्रथम बिश्व सम्मेलनले म्याग्दी जिल्लालाई नि:शुल्क वाईफाई जिल्ला बनाउने, जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका भौतिक पूर्वाधार जस्ता बिकास निर्माणका कार्यमा सहकार्य गर्ने रोडम्याप अगाडि सार्दै बिश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै जाने नीति तथा योजना तय गरेको छ । ***








