प्रथम अधिवेशनबाट नेतृत्वमा पुनः न्यौपाने
टोकियो – यो वर्षको तीजको अवसरमा आयोजित तीजबिशेष कार्यक्रमहरुका लागि आएका कलाकारहरुको साँगीतिक प्रस्तुतीसहित स्याङ्जा समाजले अन्तिम तीज कार्यक्रम अर्थात तीजको समापन गरेको छ ।
आइतवार टोकियोको इकेबुकुरोमा भएको तीजबिशेष समापन साँगीतिक साँझमा नेपालका चर्चित गायक खुमन अधिकारी, गायिकाद्वय रमिला न्यौपाने र कला पंगेनीले आफ़्ना चर्चित गीतहरु गाएर जापानका नेपालीहरुलाई नचाउनुसम्म नचाए ।
कम्मर मर्काई मर्काई नाच्नेहरुको भिडले स्टेजमा खुट्टा टेक्ने ठाउँ थिएन । तीजका भाकाहरुका साथै अन्य सुपरहिट गीतहरु गाएर उनीहरुले टोकियोको अन्तिम तीज कार्यक्रमलाई उनीहरुले उल्लासमय बनाएका हुन् ।
टोकियोमा भएका तीजबिशेष साँगीतिक कार्यक्रमहरुका लागि आमन्त्रित कलाकारहरु खुमन, रमिला र कलाले यसअघि पनि दुईवटा तीज कार्यक्रम गरिसकेका छन् ।
राष्ट्रियगानबाट सुरु भएको उक्त कार्यक्रमको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सदस्यसमेत रहेका गायक खुमन अधिकारले कार्यक्रमको ब्यानर खोलेर उदघाटन गरेका थिए भने उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष सागरमणि भण्डारीले स्वागत गरेका थिए ।
यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले हरितालिका तीजको शुभकामना मन्तब्य ब्यक्त गर्दै तीज पर्वले प्रवासका नेपालीहरुमा छाएको उल्लासताले नेपाली एकतालाई थप मजबुत र सुदृढ बनाउन मदत पुगेको बताए ।
यसैगरी बिशेष अतिथिकारुपमा बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले तीजको शुभकामना मन्तब्य ब्यक्त गर्नुकासाथै साँस्कृतिक धरोहरकारुपमा स्थापित नेपाली नारीमनहरुमा उत्साह पैदा गर्ने तीज पर्वलाई मनोरञ्जनमा मात्र
सीमित राख्न नहुने, यो अवसरलाई समाज हितका लागि सिर्जनात्मक कार्यमा उपयोग गरिनुपर्ने र थप भड्किलो हुनबाट बेलैमा जोगाउनुपर्ने बताए ।
उक्त कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी तथा सर्बसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अध्यक्ष जीवन न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रमको महासचिव जीवन अर्यालले सञ्चालन गरेकिथिईन् ।
उक्त साँगीतिक समारोहमा सोहि दिनको पूर्वान्हमा भएको स्याङ्जा समाजको प्रथम अधिवेशनले पुनः जीवन न्यौपानेको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको घोषणा पनि गरिएको थियो । जसअनुसार उपाध्यक्षद्वयमा सागरमणि भण्डारी र जिवन अर्याल, महासचिव नरेशबहादुर जिसी, सचिवमा शालिकराम काफ़्ले, सचिव तथा प्रवक्तामा मुक्ति सुबेदी, कोष संरक्षक ध्रुब ज्ञवाली, कोषाध्यक्ष सुरेश रेग्मी र सहकोषाध्यक्षमा योगेन थापा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा भक्त खत्री, प्रदिप सेन, रोशनप्रताप क्षेत्री, सञ्जिव गुरुङ, तोम गुरुङ, बेदबहादुर काकी, पोशाक न्यापाने, नारायण न्यौपाने रहेका छन् ।
यसैगरी वरिष्ठ सल्लाहकारहरुमा भीम न्यौपाने सल्लाहकारहरुमा दिनेश गुरुङ, कपिलदेव न्यौपाने, देवीलाल भण्डारी, नबिन थापा मगर चयन भएका छन् भने आर्थिक सल्लाहकारहरुमा थानु राना मगर, गीत न्यौपाने, कल्पना जिसी, सुशिला क्षेत्री र अमृता बस्नेत रहेका छन् ।
कार्यक्रमपश्चात छोटो कुरा गर्दै स्याङ्जाली गायक खुमनले जापानमा आएर आफु स्याङ्जा समाजबाट सम्मानित हुन पाएकोमा निकै गर्व लागेको बताए । उनले आफ़्नै गाउँघरको सम्झना आएको बताउँदै अगाडि भने – ‘मलाई आफ़्नै गाउँमा कार्यक्रम गरेको महसुस भइरहेको छ, विदेशको व्यस्ततामा पनि यो अवसर जुटाईदिएकोमा स्याङ्जा समाजलाई धन्यवाद दिन चाहान्छु, समग्रमा जापानको साँगीतिक यात्रा अत्यन्तै सफल भएको छ, जापानवासी समस्त नेपालीहरु एवं मिडियाकर्मीहरुलाई हामी कलाकारहरुको तर्फ़बाट धन्यबाद दिन चाहान्छु,’ – उनले भने ।
स्याङ्जाका अति पिछडिएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृत्ति कोष निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नवनिर्वाचित अध्यक्ष जीवन न्यौपानेले बताए । अध्यक्ष न्यौपानेले कार्यक्रम सफ़ल पार्न सहयोग गर्ने उपस्थित दर्शक, कलाकार, प्रायोजक, मिडियाकर्मी लगायत सबैलाई धन्यबाद ब्यक्त गरे । ***












