टोकियो – तीज मनाउन मेगुरो झरेका नेपाली चेलीहरुलाई बिहीवार गायिका जानकी तरामी मगरले नचाउनु नचाईन् ।
हरितालिका तीजकै दिन बिहिवार गल्कोट समाज जापानले आयोजना गरेको तीज बिशेष कार्यक्रममा गायिका जानकीले बिहे भा’छैन…, साइकल किन्न जाम…, कार किनेर ल्याउ…., तरुनी कसो गरुनी…., मनले माया खोज्यो…, मेरो जवानी… लगायतका गीतहरु गाएर चेलीहरुलाई भरपुर नचाएका हुन् ।
कार्यक्रममा स्थानीय कलाकार बिनोद भण्डारी, सूर्य खड्कालगायतले पनि गीत गाएका थिए ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि एनआरएन आईसीसी उपाध्यक्ष भवन भट्टले पानसमा बत्ती प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा घुम्टे नौमती बाजा समुहको नौमती बाजाले थप रौनकता प्रदान गरेको थियो । डिजे जोन छन्त्यालको संगीत संयोजन रहेको सो कार्यक्रममा अतिथि कलाकार तथा स्थानीय कलाकारहरुलाई फूलको गुच्छाले स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. भट्टराईले तीजको उपलक्षमा जापानबासी नेपाली महिलाहरुलाई हार्दिक शुभकामना ब्यक्त गरेका थिए । यसैगरी बिशेष अतिथि भवन भट्ट र डा. नम्रता पाण्डेले पनि तीजको शुभकामना ब्यक्त गरेका थिए । 
समाजका कार्यवाहक अध्यक्ष नरबहादुर थापाको सभापतित्वमा भएको सो तीजबिशेष साँगीतिक कार्यक्रममा आगन्तुकहरुलाई गल्कोट समाजका सदस्य एलिना थापाले स्वागत मन्तब्य दिएकी थिईन् ।
कार्यक्रमको अन्तमा, सभापति नरबहादुर थापाले हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुका साथै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रममा कालिका केसीको सञ्चालन रहेको थियो । *** तस्विर : लभकुमार बुढाथोकी मगर




















